
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी छिन् । आज शनिबार औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालामा स्थलगत भ्रमण पश्चात छलफलमा जुटेकी मन्त्री मेहताले यस्तो निर्देशन दिएकी हुन् ।
छलफलका क्रममा मन्त्री मेहताले हालसम्म औषधी आपूर्ति आपूर्ति र वितरणको अनुमति प्राप्त गरेका तर नियमित आपूर्ति नगरेका आपूर्तिकर्ताहरूको नियमन कार्य तत्काल अगाडि बढाइने पनि बताएकी छिन् ।
औषधी आपूर्ति आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र कागजात पेस गरेका तर अनुमति प्रदान गर्न नसकिएका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउने बताउँदै मन्त्री मेहताले विभागको नियमन क्षमता अभिवृद्धि गर्न सबै प्रकारका कदम चाल्ने गरी तयारी गर्न समेत आग्रह गरिन् ।
‘अन्य औषधी आपूर्ति र व्यवस्थापनलाई सहज र गुणस्तरीय बनाउन आपूर्ति अनुमति प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरणसहित तत्काल पेस गनर्सहोस् र नेपाल सरकारबाट निःशुल्क वितरण गरिने औषधीहरू र स्वास्थ्य वीमाअन्तर्गत उपलब्ध गराइने औषधीहरूको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्नुहोस् ।’ मन्त्री मेहताले निर्देशन दिएकी छिन् ।



