दाङ, साउन १४।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्याब्सन दाङले सो घटनालाई अमानवीय, दुःखद तथा निन्दनीय भन्दै दोषीमाथि कानुनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार साउन १४ गते विद्यालयको कक्षा सकिएपछि घर फर्किरहेका विद्यार्थी बोकेको स्कुल बसलाई बीच बाटोमै रोकेर केही व्यक्तिले जबर्जस्ती बसभित्र प्रवेश गरी विद्यार्थीहरूमाथि कुटपिट गरेका थिए। घटनाका क्रममा कक्षा ११ मा अध्ययनरत छात्र नयन वलीमाथि खुकुरी प्रहार गरिएको घटनाप्रति प्याब्सन दाङले घोर भत्र्सना गरेको छ ।
प्याब्सनले विद्यालय विद्यार्थीका लागि सुरक्षित सिकाइको थलो हुनुपर्ने उल्लेख गर्दै यस्ता हिंसात्मक घटनाले विद्यार्थी, अभिभावक तथा समग्र शैक्षिक समुदायमा त्रास र असुरक्षाको भावना सिर्जना गरेको जनाएको छ। संस्थाले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकाय र प्रशासनसँग जोडदार माग गरेको छ।
साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन विद्यालय र विद्यार्थीको सुरक्षाका लागि प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
प्याब्सन दाङले घाइते विद्यार्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालय परिवार, विद्यार्थी र अभिभावकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र अफवाह नफैलाउन सबैसँग अनुरोध गर्दै प्याब्सन दाङले विद्यार्थीको सुरक्षा, सम्मान र गुणस्तरीय शिक्षाको सुनिश्चितताप्रति सदैव प्रतिबद्ध रहने जनाएको छ।



