दाङ । नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले पार्टीभित्र नेतृत्व र प्रतिनिधि छनोटमा देखिएको गुटगत प्रभाव तथा दबाबको विरोध गर्दै आगामी क्षेत्रीय अधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
सुवेदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूहरूले अघि सारेको ‘रूपान्तरण अभियान’ कुनै व्यक्ति, गुट वा पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन्। कांग्रेस दाङमा नेतृत्व तथा प्रतिनिधि छनोटमा व्यापक सहभागिता र खुला प्रतिस्पर्धाको मागसहित यस्तै अभियान सञ्चालन भइरहेको पछिल्ला गतिविधिसँग उनको अभिव्यक्ति जोडिएको देखिन्छ।
सुवेदीका अनुसार अभियानका क्रममा करिब पाँच घण्टासम्म निरन्तर छलफल गरी अभियानको उद्देश्य र आगामी रणनीतिबारे स्पष्ट धारणा बनाइएको थियो। उनले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिहरूले कसैको भर, डर वा दबाबमा नभई आफ्नो विवेक र इच्छाका आधारमा उम्मेदवारी दिने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
उनले विभिन्न पदमा योग्य र सक्षम व्यक्तिहरू स्वतन्त्र रूपमा अघि आउनुपर्नेमा जोड दिँदै प्रतिनिधिहरूलाई पनि उम्मेदवार छनोट गर्दा व्यक्ति वा समूहभन्दा योग्यता, इमानदारी, क्षमता र परिवर्तनप्रतिको प्रतिबद्धतालाई आधार बनाउन आग्रह गरेका छन्।
सुवेदीले आफ्नो अभिव्यक्तिमा ‘परिवर्तनको कुरा अरूलाई गरेर आफू पदमा टाँसिरहनु परिवर्तन होइन, परिवर्तनको सुरुवात आफैँबाट हुनुपर्छ’ भन्ने धारणा अघि सारेका छन्।
त्यसैअनुसार आफू महाधिवेशन प्रतिनिधि बन्न सक्ने अवस्था हुँदाहुँदै पनि अभियानको मूल भावनालाई आत्मसात् गर्दै पदको दाबीबाट पछि हट्ने निर्णय गरेको उनले बताएका छन्।
“नेपाली कांग्रेस क्षेत्र नं. २ को आगामी क्षेत्रीय अधिवेशनमा म कुनै पनि पदमा उम्मेदवारी दिने छैन,” सुवेदीले घोषणा गरेका छन्।
उनले यस निर्णयलाई आफ्नो हार नभई अभियानप्रतिको प्रतिबद्धता र पदभन्दा संगठन तथा परिवर्तनलाई प्राथमिकता दिने उदाहरणका रूपमा व्याख्या गरेका छन्।
“अब हल्लाले होइन, प्रतिनिधिको विवेकले निर्णय गर्ने समय हो। डरले होइन, आफ्नो आत्मविश्वासले अघि बढ्ने समय हो। गुटको आदेश होइन, कार्यकर्ताको स्वतन्त्र निर्णय स्थापित गर्ने समय हो,” सुवेदीले भनेका छन्।
कांग्रेस दाङका कोषाध्यक्ष सुवेदी पछिल्लो समय पार्टीभित्र नेतृत्व तथा प्रतिनिधि छनोटमा व्यापक सहभागिता र खुला प्रतिस्पर्धाको पक्षमा सार्वजनिक रूपमा देखिएका नेतामध्ये एक हुन्।


