
दाङ । नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य दलित महिलातर्फ लिला नेपालीले उम्मेदवारी घोषणा गरेकी छन् । उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै अमूल्य मत दिएर साथ, सहयोग र समर्थन गर्न आग्रह गरेकी छन् ।
नेपाली काङ्ग्रेसको संगठनलाई थप समावेशी, सुदृढ र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै नेपालीले दलित महिला समुदायको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भनिन्, “नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी प्रतिनिधिज्यूहरूलाई केन्द्रीय सदस्य दलित महिलातर्फ मेरो उम्मेदवारी रहेको जानकारी गराउँदै हजुरहरूको अमूल्य मत दिएर साथ र सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।”
नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्वमा दलित महिलाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले पार्टीभित्र लामो समयदेखि सक्रिय रहेका दलित तथा महिला समुदायका आवाजलाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।
नेपालीले पार्टीको संगठन विस्तार, सामाजिक न्याय, समानता र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । उनले महाधिवेशन प्रतिनिधिहरूको विश्वास, समर्थन र मत नै आफ्नो उम्मेदवारीको मुख्य आधार भएको बताएकी छन् ।
१५औँ महाधिवेशनसँगै नेपाली काङ्ग्रेसमा विभिन्न समावेशी समूहबाट नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेका बेला लिला नेपालीको उम्मेदवारीले दलित महिला प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ ।


