काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ । पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो । इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा प्रवेश गरेर आवेदन दिन सक्ने पार्टीले जनाएको छ । आवेदनका लागि पार्टीको आधिकारिक एप प्रयोग गर्न सकिने रास्वपाले जानकारी दिएको छ । एपको लिंक- https://rspnepal.page.link/app
२- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजाघरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न र ग्राहकलाई बिल उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै खाद्य स्वच्छता, गुणस्तर र उपभोक्ता हित संरक्षणमा ध्यान दिन व्यवसायीलाई आग्रह गरेको हो। उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोलाई ध्यानमा राख्दै विभागले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना, खाजा तथा पेय पदार्थ बिक्री गर्न निर्देशन दिएको जनाएको छ । निर्देशनअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ । त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण र बिक्री-वितरणमा स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि विभागले निर्देशन दिएको छ । विभागले उपभोक्तालाई पारदर्शी, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
३- बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको हो । अमेरिकी राहदानी भएका इमरानमाथि भारतीय नागरिक नभई प्रदर्शनमा सहभागी भएको आरोपमा आप्रवासन कानुनअन्तर्गत कारबाही अघि बढाइएको बताइएको छ । इमरानका वकिलले विदेशमा बस्ने भारतीय मूलका नागरिकका लागि जारी गरिने ओसीआई कार्डधारकलाई प्रदर्शनमा सहभागी हुन कानुनले रोक नलगाएको दाबी गर्दै प्रहरीको निर्णयलाई अदालतमा चुनौती दिने बताएका छन् । इमरानले भने आफू मुम्बईको नागरिकका रूपमा प्रदर्शनमा सहभागी भएको र नागरिकको आवतजावत तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको विषयमा प्रश्न उठाउन गएको बताएका थिए । मतदाता सूचीको विशेष पुनरावलोकनका क्रममा लाखौँ मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको विपक्षी दल तथा प्रदर्शनकारीहरूको आरोप छ । यही विषयलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो ।
४- प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली (आरएनपी–एआर) लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति र आसपासका पहाडी भू–बनोटका साथै प्राविधिक तथा सञ्चालनसम्बन्धी सीमितताले प्रतिकूल मौसममा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ । नयाँ प्रणाली उपग्रहमा आधारित हुनेछ। यसलाई कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृतिलगायत प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रणाली लागू भएपछि कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने घटनामा कमी आउने अपेक्षा गरिएको छ। यसले पोखराको हवाई सेवालाई थप नियमित, भरपर्दो र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ्नु हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
५- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ । भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ । मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ । यसअघि तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिइएको थियो । बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
६- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ। प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट हुने रकमसमेत कुल राजस्व परिचालनमा समावेश गरिएको छ । कुल सरकारी राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत, प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ । भदौ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ थियो । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ । समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले यस अवधिमा २४ अर्ब ५४ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको रकम १६ अर्ब ३८ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोत तथा अन्य प्राप्ति ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
७- काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको एउटा सर्किट यसअघि नै चार्ज गरिसकिएको छ । काठमाडौं उपत्यकाको विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक आसपासको बढ्दो विद्युत् माग सम्बोधन गर्दै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन चोभार सबस्टेसन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ । अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सबस्टेसन चार्ज गर्न निर्देशन दिए । उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्दै दुवै संरचनालाई उच्च प्राथमिकतामा राखी यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन् । फिडर लाइन विस्तारको काम अन्तिम चरणमा रहेको र उक्त काम सम्पन्न भएपछि दशैंलगत्तै सबस्टेसन चार्ज गरिनेछ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण कार्य अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो ।
८- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । गत वर्ष भदौसम्म ३ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । अमेरिकी डलरमा हिसाब गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो । त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५२ हजार १६३ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।
९- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर धागो, पाम तेल, जिङ्क सिट र पार्टिकल बोर्डलगायत वस्तुको निर्यात बढेको छ। औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु र जडीबुटीलगायत वस्तुको निर्यात भने घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु आयात १६.२ प्रतिशतले बढेको थियो । आयातको स्रोतका आधारमा भारतबाट २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायातका उपकरण, सवारीसाधन तथा तिनका पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। सुन, धान तथा चामल, हवाईजहाजका पार्टपुर्जा, पोलिथिन ग्रान्युल्स र चिकित्सकीय सामग्री तथा पार्टपुर्जालगायत वस्तुको आयात घटेको छ । निर्यातभन्दा आयात धेरै हुँदा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १९.१ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात १५.५ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको थियो । बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१.१ प्रतिशत, मध्यवर्ती वस्तुको २८.८ प्रतिशत र पुँजीगत वस्तुको ०.१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, २९.९ प्रतिशत र ०.८ प्रतिशत थियो । कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ३९.४ प्रतिशत, मध्यवर्ती वस्तुको ५१.९ प्रतिशत र पुँजीगत वस्तुको ८.७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत थियो । २०८३ भदौमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ६.९ प्रतिशतले बढेको छ। त्यस्तै, आयातको मूल्य सूचकाङ्क १६.१ प्रतिशतले बढेको छ। यस अवधिमा व्यापारका सर्त ७.९ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा खुद सेवा आय २२ अर्ब ४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ८८ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय २८.६ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमण आय ११ अर्ब ६२ करोड रुपैयाँ थियो । यसैबीच, समीक्षा अवधिमा भ्रमण व्यय १३.१ प्रतिशतले घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । भ्रमण व्ययमध्ये शिक्षातर्फको खर्च २९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल भ्रमण व्यय ४७ अर्ब ३१ करोड रुपैयाँ र शिक्षातर्फको खर्च ३२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मा कारोबार भएको थियो । आज बैंकिंग, उत्पादन, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने नेपाल हिमालायन एभरेष्ट इन्सुरेन्सको शेयर ६.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २३ करोड ६१ लाख बराबरको कारोबार भएको छ भनेअपि पावरको २२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
११- आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ । यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो । नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु यसको मुख्य उद्देश्य रहेको छ । निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यसले प्रसवका बेला आमाको मनोबल बढाउनुका साथै बच्चाको सुरक्षामा समेत सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ । त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री, वितरण र प्रवर्द्धनलाई नियमन गरी स्तनपानको संरक्षण , प्रवर्द्धन र सहयोग गर्नेछ। सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने, आमालाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने कुरामा जोड दिएको छ । नयाँ निर्देशिकामार्फत प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन् । राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै केही नाम अस्वीकृत गरेपछि प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका हुन् । उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् । सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । ‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् । संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतको निर्णयमाथि पनि प्रश्न उठाउन र त्यसलाई जवाफदेही बनाउन सकिने व्यवस्था नै लोकतन्त्रको सुन्दरता भएको बताएका छन् । ‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले भनेका छन् ।
१३- अमेरिका र इरानबीच केही साताभित्र संयुक्त राष्ट्रसङ्घको समर्थनमा तयार पारिएको मल ढुवानीसम्बन्धी योजनामा सहमति हुन नसके एसिया र अफ्रिकाका केही क्षेत्रमा खाद्य सुरक्षा सङ्कट उत्पन्न हुन सक्ने राष्ट्रसङ्घका एक उच्च अधिकारीले चेतावनी दिएका छन् । राष्ट्रसङ्घले होर्मुज जलडमरूमध्यबाट मलको सुरक्षित आवागमन सहज बनाउन गत मार्चमा कार्यदल गठन गरेको थियो । तर, उक्त योजनाअनुसारको संयन्त्र अझै कार्यान्वयनमा आउन सकेको छैन । राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जर्ज मोरेइरा दा सिल्भाले अमेरिका र इरानबीच सहमति भएमा सातदेखि १० दिनभित्र यो संयन्त्र सञ्चालन गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकका क्रममा बैंककमा बोल्दै उनले आगामी केही साताभित्र सहमति हुनु अत्यन्त आवश्यक रहेको बताए । सहमति हुन नसके खेती लगाउने उपयुक्त समय गुम्ने र त्यसले कृषि उत्पादनमा गम्भीर असर पार्ने उनको भनाइ छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले हजारौँ व्यावसायिक जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्न सहयोग गरेको बताएका छन् । अमेरिकाले समुद्री आवागमनमा अवरोध पुर्याउने इरानका प्रयासविरुद्ध कारबाही जारी राख्ने र विश्व अर्थतन्त्रलाई बन्धक बनाउने प्रयास स्वीकार नगर्ने उनको भनाइ छ । यस विषयमा ह्वाइट हाउस र बैंककस्थित इरानी दूतावासले तत्काल प्रतिक्रिया दिएका छैनन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण कडा बनाउने प्रयास गरेको छ । उक्त मार्गलाई अमेरिकामाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएको इरानले अमेरिकी नौसैनिक नाकाबन्दीको पनि सामना गरिरहेको छ । युद्धअघि विश्व बजारमा कारोबार हुने युरियाको करिब एक तिहाइ र समुद्री मार्गबाट ढुवानी हुने गन्धकको झन्डै आधा हिस्सा यही जलडमरूमध्यबाट आवागमन हुन्थ्यो । युरिया विश्वमा सबैभन्दा बढी प्रयोग हुने रासायनिक मल हो भने गन्धक मल उत्पादनका लागि महत्त्वपूर्ण कच्चा पदार्थ हो। यो मार्ग विश्वको तेल आपूर्तिका लागि पनि प्रमुख समुद्री बाटो हो । वासिङ्टनस्थित अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानका अनुसार द्वन्द्व सुरु भएको छ महिनाभन्दा बढी समय बितिसक्दा पनि खाडी क्षेत्रबाट मलको ढुवानी लगभग ठप्प छ । जुनको मध्यदेखि जुलाईको मध्यसम्म भएको युद्धविरामका बेला केही समुद्री ढुवानी पुनः सुरु भए पनि त्यसमा मलजन्य सामग्रीको हिस्सा अत्यन्त न्यून रहेको संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय वाणिज्य मण्डलको अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार होर्मुज जलडमरूमध्यमा अवरोध जारी रहे अनाजको मूल्य ८१ प्रतिशतसम्म, तेलहन बालीको मूल्य ६६ प्रतिशतसम्म र पशुजन्य उत्पादनको मूल्य ३० प्रतिशतसम्म बढ्न सक्छ । मलको अभावका कारण किसानले समयमै खेती गर्न नसके कृषि उत्पादन घट्ने र खाद्यवस्तुको मूल्यमा थप दबाब पर्ने दा सिल्भाले बताएका छन् । प्रस्तावित योजनाअनुसार ओमानमा समन्वय केन्द्र स्थापना गरी जहाजको दर्ता, सुरक्षित आवागमन र ढुवानी व्यवस्थापन गरिनेछ । खाडी क्षेत्रका बन्दरगाहमा राष्ट्रसङ्घका अनुगमनकर्ताले स्थानीय अधिकारीसँग मिलेर जहाजमा सामान लोड गरिएको विवरण जाँच गर्नेछन् । दैनिक पाँचवटा जहाजलाई मात्र होर्मुज जलडमरूमध्य पार गराउन सके पनि अत्यावश्यक अवस्थामा रहेका देशमा मलको आपूर्ति कायम राख्न सकिने दा सिल्भाले बताएका छन् । यात्राका क्रममा जहाजको निगरानी गरिनेछ र कुनै देशले जहाज वा सामानबारे प्रश्न उठाए थप निरीक्षणसमेत गर्न सकिनेछ । जुनमा भएको अस्थायी युद्धविराम अन्त्य भएपछि अमेरिका र इरानले मध्यस्थकर्तामार्फत विभिन्न प्रस्ताव आदानप्रदान गर्दै आएका छन् । तर इरानका सर्त र उसमाथि लगाइएको आणविक कार्यक्रमसम्बन्धी विषयलाई सुरुदेखि नै सम्बोधन गर्नुपर्ने अमेरिकी अडानका कारण होर्मुज जलडमरूमध्य खुलाउने प्रयास अघि बढ्न सकेको छैन । दा सिल्भाले दीर्घकालीन शान्ति र समुद्री आवागमन सुनिश्चित गर्ने व्यापक सम्झौतासम्बन्धी वार्ता जारी रहे पनि मल ढुवानीको प्रस्तावित संयन्त्रलाई समानान्तर रूपमा सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । होर्मुज जलडमरूमध्यको सङ्कटसँगै कालासागर क्षेत्रमा मालवाहक जहाजमाथि भइरहेका आक्रमण र लालसागरको प्रमुख समुद्री मार्गमा इरानसमर्थित हुथी लडाकुहरूको गतिविधिले पनि विश्व खाद्य सुरक्षामा जोखिम बढाएको छ । जलवायु सङ्कट र विभिन्न महत्त्वपूर्ण समुद्री मार्गमा एकैपटक उत्पन्न भएका अवरोधले खाद्यान्न आपूर्ति प्रणालीमाथि थप दबाब सिर्जना गरिरहेको दा सिल्भाले बताएका छन् ।
१४- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ११ सयले घटेर २ लाख ८८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२० रुपैयाँले घटेर ४०३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२५५ मा कारोबार भएको थियो ।
१५- रुसको आक्रमण जारी रहेका बेला युक्रेनमा स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई लिएर विवाद चर्किएको छ । सेवामा लगाइएको प्रतिबन्धले युक्रेनी सेनाको सञ्चार प्रणाली र सैन्य अभियानमा असर पारेको आरोप लागेपछि विश्वका धनी व्यवसायीमध्येका एक एलन मस्कमाथि प्रश्न उठेको छ । अमेरिकी सांसदहरूले समेत यस विषयमा आपत्ति जनाएका छन् । विवादले युद्धका बेला कुनै निजी कम्पनीले अर्को देशको रक्षा क्षमतामा कति प्रभाव पार्न सक्छ भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ । युक्रेनी सेना युद्धका क्रममा स्टारलिङ्कमा धेरै हदसम्म निर्भर छ । ड्रोन सञ्चालन, गुप्तचर सूचना सङ्कलन र सैनिकबीच सम्पर्क कायम गर्न यो सेवाको प्रयोग हुँदै आएको छ । यस्तो अवस्थामा इन्टरनेट सम्पर्कमा अवरोध आउँदा युद्धमोर्चामा कठिनाइ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकी सांसदहरूले रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण भइरहेका बेला युक्रेनको सञ्चार सेवामा प्रतिबन्ध लगाउनु गम्भीर विषय भएको बताएका छन् । अमेरिकी प्रतिनिधिसभाको विदेश मामिला समितिमा रहेका डेमोक्र्याटिक सांसदहरूले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुर्याउन सक्ने टिप्पणी गरेका छन्। सांसद प्रमिला जयपालले युद्धका बेला एउटै निजी कम्पनीसँग कुनै देशको सञ्चार व्यवस्था रोक्न सक्ने शक्ति हुनु खतरनाक उदाहरण बन्न सक्ने चेतावनी दिएकी छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि स्टारलिङ्कको सेवामा आएको अवरोधप्रति असन्तुष्टि जनाएका छन् । बेलायती पत्रकार पियर्स मोर्गनको कार्यक्रममा बोल्दै उनले राति करिब एक बजे स्टारलिङ्कको सेवा रोकिएको आरोप लगाएका थिए । उनका अनुसार यसले युक्रेनी सेनाको गतिविधि र रुसी आक्रमणबाट जोगिने प्रयासमा असर पारेको थियो । जेलेन्स्कीले स्टारलिङ्कको प्रयोग शत्रुमाथि आक्रमण गर्न मात्र नभई मानिसहरूको ज्यान बचाउन पनि आवश्यक रहेको बताएका छन् । सञ्चार सम्पर्कमा अवरोध हुँदा रुसी आक्रमण रोक्ने प्रयास प्रभावित हुन सक्ने र सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने उनको भनाइ थियो । उनले मस्कको निर्णयलाई ठूलो गल्तीका रूपमा व्याख्या गरेका छन् । विवाद बढेपछि एलन मस्कले स्टारलिङ्क र स्टारसिल्ड फरक प्रकृतिका सेवा भएको स्पष्ट पारेका छन्। उनका अनुसार स्टारलिङ्क स्पेसएक्सको व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवा हो, जसलाई नागरिक तथा रक्षात्मक प्रयोजनमा प्रयोग गर्न सकिन्छ। तर व्यावसायिक सेवाको प्रयोग आक्रामक सैन्य कारबाहीका लागि गर्नु उचित नहुने उनको तर्क छ । स्टारसिल्ड भने अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा रहेको सैन्य सञ्चार प्रणाली हो । मस्कका अनुसार यसमा प्रयोग र गति सम्बन्धी प्रतिबन्ध लगाउने निर्णय अमेरिकी सेनाले गर्छ र अन्तिम अधिकार राष्ट्रपतिमा रहन्छ । मस्कको यो स्पष्टीकरणले विवादमा दुवै सेवाको भूमिका र नियन्त्रणसम्बन्धी विषयलाई थप चर्चामा ल्याएको छ । युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले स्टारलिङ्कको सम्पर्क सेवा पुनःस्थापित भइरहेको बताएका छन्। तर उनले स्टारसिल्डमा लगाइएका गति सम्बन्धी प्रतिबन्ध पनि पूर्ण रूपमा हटाउन माग गरेका छन् । अमेरिकी समाचार संस्था सिएनएनको विवरणअनुसार युक्रेनी अधिकारीहरूलाई स्टारसिल्डमाथि लगाइएको प्रतिबन्धबारे पहिले नै जानकारी थिएन। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा यो निर्णय अमेरिकाको उच्चस्तरीय नीतिको हिस्सा नभएको पनि उल्लेख गरिएको छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षबाट थप स्पष्टता आवश्यक देखिएको छ ।स्टारलिङ्कलाई लिएर भारतमा पनि सेवा सञ्चालनको अनुमति दिने विषय चर्चामा आएको छ। मस्कले यसअघि केही व्यावसायिक स्वार्थले भारतमा आफ्नो कम्पनीको सेवा सुरु गर्ने योजनामा अवरोध पुर्याएको आरोप लगाएका थिए । त्यसको जवाफमा भारतको सञ्चार मन्त्रालयले स्याटेलाइट सञ्चार सेवा सञ्चालनका लागि निष्पक्ष नियम रहेको जनाएको थियो। तर सेवा प्रदायकले राष्ट्रिय सुरक्षासम्बन्धी सर्तहरू पूरा गर्नुपर्ने मन्त्रालयको भनाइ थियो । युक्रेनमा स्टारलिङ्कलाई लिएर उठेको विवादले सञ्चार प्रविधिमा निजी कम्पनीको नियन्त्रण, युद्धका बेला त्यसको प्रयोग र राष्ट्रिय सुरक्षासँग जोडिएका प्रश्नलाई अन्तर्राष्ट्रिय बहसको विषय बनाएको छ। युद्धमा सञ्चार सम्पर्क अत्यावश्यक हुने भएकाले यस्ता सेवाको उपलब्धता र नियन्त्रणसम्बन्धी निर्णयले सैन्य गतिविधिसँगै सर्वसाधारणको सुरक्षामा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।
१६- वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २४ रनले पराजित गरेको छ । गएराती हैदराबादमा सम्पन्न खेलमा जित निकाल्दै वेस्ट इन्डिजले पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको हो । वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अल आउट हुदै २२३ रन बनाएको थियो । भारतका लागि सञ्जु सामसनले २३ बलमा ५६ रन बनाएका थिए भने तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाए पनि भारतलाई जिताउन सकेनन् । भारतको इनिङ्स ध्वस्त पार्ने क्रममा वेस्ट इन्डिजका केमो पलले ४ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए भने गुडाकेश मोतीले २ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २४७ रन बनाएको थियो । टोलीका कप्तान शाइ होपले उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए । उनले ५० बलमा अविजित १०२ रन बनाए। उनको इनिङ्समा ४ चौका र ९ छक्का समावेश थिए । त्यस्तै, शेरफेन रदरफोर्डले २६ बलमा अविजित ४९ रन बनाए। शिमरोन हेटमायरले १२ बलमा ३३ तथा कप्तान होपसँग ओपनिङ गरेका ज्वेल एन्ड्र्युले १६ बलमा २१ रन जोडेका थिए । भारतका अक्षर पटेल, प्रिन्स यादव र अर्शदीप सिंहले एक–एक विकेट लिए । शानदार शतकीय इनिङ्स खेलेका शाइ होप खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले यसअघि पनि भारतविरुद्ध शतक बनाएका थिए । चौथो खेलमा जित निकालेसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज बराबरी गरेको छ । अब पाँचौँ तथा अन्तिम खेल अक्टोबर १७ मा बेङ्गलुरुमा हुनेछ । उक्त खेल जित्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।
१७- भूकम्पबाट हुन सक्ने क्षति तथा नोक्सानीको व्यवस्थापनका लागि तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले नेपाल र विश्व बैंक समूहबीच विपद् बन्ड विकास गर्ने सम्बन्धमा साझेदारी घोषणा भएको छ । यसका लागि नेपाल सरकार र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबीच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताले भूकम्पीय जोखिम सम्बोधन गर्न पुँजी बजारको उपयोग गर्दै आवश्यक वित्तीय स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने बाटो खोलेको छ । सम्झौताअनुसार विश्व बैंक समूहको कोष व्यवस्थापनसम्बन्धी निकायले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी विपद् बन्डको वित्तीय सम्भाव्यता र यसको सम्भावित संरचनाबारे अध्ययन गर्नेछ। अध्ययनपछि यस्तो बन्ड विकास तथा जारी गर्न सकिने सम्भावनाको मूल्याङ्कन गरिनेछ । विपद् बन्ड प्राकृतिक प्रकोपबाट उत्पन्न हुने आर्थिक जोखिम व्यवस्थापन गर्न प्रयोग गरिने वित्तीय साधन हो । यस्तो बन्डमार्फत विपद्को जोखिम लगानीकर्तातर्फ हस्तान्तरण गर्न सकिन्छ। तोकिएका विपद् सूचक वा सर्त पूरा भएमा बन्डबाट प्राप्त रकम प्रभावित देशलाई उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ । प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाका उपायलाई एकीकृत गर्दै सम्भावित विपद्को सामना गर्ने क्षमता बढाउन प्रयास गर्दै आएको छ । विपद् बन्डको सम्भावित विकासले विपद्पछि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउने वैकल्पिक माध्यम उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ । यो पहल विश्व बैंक समूहको स्थापित विपद् बन्ड कार्यक्रमअन्तर्गत अघि बढाइएको हो । उक्त कार्यक्रमले विभिन्न देशलाई प्राकृतिक विपद्बाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्न तथा वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच स्थापित गर्न सहयोग गर्दै आएको छ । नेपाल र विश्व बैंकबीच भएको सम्झौता विपद् जोखिम वित्तीय व्यवस्थापनका लागि नयाँ उपायको सम्भाव्यता अध्ययन गर्ने प्रारम्भिक कदम हो । बन्ड जारी हुने, त्यसको संरचना कस्तो हुने र त्यसबाट कति वित्तीय स्रोत जुट्न सक्ने भन्ने विषय भने आगामी अध्ययन तथा मूल्याङ्कनबाट तय हुने बताइएको छ ।
१८- काठमाडौँ । दुई तिहाइ नजिकको सरकारको राजदूत सिफारिसलाई संसदीय सुनुवाइ समितिले पहिलोपटक अस्वीकृत गरेको छ । सरकारले सिफारिस गरेका १३ जनामध्ये दुई जनाको नाम अस्वीकृत भएको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम निर्णय नगरी होल्डमा राखिएको छ । बाँकी १० जनाको नाम भने समितिले अनुमोदन गरेको छ । थापाको स्थायी आवासीय अनुमतिपत्र (पीआर), परिवारको बसोबास र सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठेपछि निर्णय रोकिएको हो । समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झाको नाम भने अनुमोदन गरेको छ ।
१९- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गए राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी), लिभरपुल र रियल म्याड्रिडले जित निकालेका छन् । बुधबार राति भएका खेलमा पिएसजीले म्यानचेस्टर सिटीलाई ४–२, लिभरपुलले लास्कलाई ६–३ र रियल म्याड्रिडले रोमालाई ४–३ गोलले पराजित गरेका हुन् । पिएसजीले म्यानचेस्टर सिटीविरुद्ध चार गोल गर्दै महत्त्वपूर्ण जित हात पारेको हो । सिटीले दुई गोल गरे पनि पिएसजीको आक्रमण रोक्न सकेन। यस जितसँगै पिएसजीले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ । लिभरपुलले लास्कविरुद्ध नौ गोल भएको रोमाञ्चक खेलमा ६–३ को जित निकालेको छ । त्यस्तै, रियल म्याड्रिडले रोमालाई उसकै मैदानमा ४–३ गोलले पराजित गरेको छ । अर्को खेलमा एस्टन भिल्लाले फेनरबाचेलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ । रियल बेटिसले पोर्टोलाई ३–२ तथा फेयेनुर्डले कोमोलाई ३–२ गोलले पराजित गरेका छन् । यस्तै, साख्तर डोनेस्कले एईके एथेन्सलाई ३–१ गोलले हराउँदा बोडो/ग्लिम्टले बोरुसिया डर्टमन्डलाई १–० गोलले पराजित गरेको छ । स्टुटगार्टले स्लोभान ब्राटिस्लाभालाई ३–० गोलले हराएको छ ।
२०- जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।


