अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र दिदै – Kanika Khabar
Saturday, October 31Nepali News Portal

अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र दिदै

    मा प्रकाशित

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका क्षेप्यास्त्र आक्रमणबाट बच्न अमेरिकाले ५०० वटा प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र बिक्रीको अनुमति दिएको निर्णयको स्वागत गरेका छन् । उनले यसलाई महत्वपूर्ण निर्णय भन्दै क्षेप्यास्त्रको आपूर्ति तत्काल सुरु गर्न अमेरिकासँग आग्रह गरेका छन् ।

जेलेन्स्कीका अनुसार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाइरहेको छ । अक्टोबरको पछिल्लो दुई सातामा मात्रै रुसले युक्रेनको विद्युत् प्रणालीका महत्वपूर्ण क्षेत्रमा ३० भन्दा बढी आक्रमण गरेको उनले बताएका छन् । आगामी जाडोयाममा विद्युत्, ताप, खानेपानी र अन्य अत्यावश्यक सेवाको सुरक्षाका लागि क्षेप्यास्त्र आवश्यक रहेको उनको भनाइ छ ।

युक्रेनले जाडोयाममा आफ्नो हवाई सुरक्षा बलियो बनाउन हरेक महिना औसत १०० वटा प्याट्रियट क्षेप्यास्त्र उपलब्ध गराउन माग गरेको छ । तर हालको सम्झौताअनुसार क्षेप्यास्त्र आपूर्ति हुन केही वर्ष लाग्न सक्ने भन्दै जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगी राष्ट्रलाई तत्काल मौज्दातमा रहेका क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार ५०० वटा प्याट्रियट पीएसी–३ क्षेप्यास्त्रको सम्भावित बिक्रीलाई औपचारिक स्वीकृति दिएको जनाएको छ । उक्त सम्झौताको अनुमानित मूल्य २ अर्ब १० करोड अमेरिकी डलर रहेको छ । यसका लागि क्यानडा, जर्मनी र नर्वेले सहयोग गर्नेछन् भने युरोपेली सङ्घको ऋण सुविधाबाट पनि आर्थिक सहयोग उपलब्ध हुनेछ ।

युक्रेनले रुसबाट निरन्तर क्षेप्यास्त्र आक्रमणको सामना गरिरहेका बेला अमेरिकाको यो निर्णय आएको हो । क्षेप्यास्त्र आपूर्तिको निश्चित समयसीमा भने सार्वजनिक गरिएको छैन । जेलेन्स्कीले आफ्नो देशलाई भविष्यमा नभई वास्तविक खतरा उत्पन्न भइरहेका बेला नै हवाई सुरक्षा सामग्री आवश्यक रहेको बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्