काठमाडौं । नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार तथा प्रवर्द्धन गर्न २०० भन्दा बढी कन्टेन्ट क्रियटर परिचालन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।
प्रविधिको बढ्दो प्रयोगसँगै नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानको उद्देश्य रहेको छ ।
यस अभियानमा खानपान, भेषभूषा, यात्रा, छायाचित्र, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीलगायत विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रियटर सहभागी हुनेछन् । उनीहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैलीमा तस्बिर, भिडियो तथा अन्य सामग्री तयार गर्नेछन् ।
पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने र यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रियसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने भन्दै सुरुवात गर्न लागिएको बताइएको छ ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, तस्बिर तथा भिडियो सामग्री उत्पादन र डिजिटल कन्टेन्ट बैंक निर्माणलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार विभिन्न विधाका कन्टेन्ट क्रियटरसँग सहकार्य गर्न लागिएको हो ।
व्यक्तिगत अनुभव, स्थानीय कथा, खानपान, संस्कृति र जीवनशैलीमा आधारित सामग्रीमार्फत स्थापित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका नयाँ गन्तव्यको समेत पहिचान र प्रचार हुने बोर्डको अपेक्षा छ। यसबाट पर्यटन प्रवर्द्धनसँगै नयाँ प्रतिभालाई अवसर, रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार हुने विश्वास गरिएको छ ।


