कुलेखानी जलाशयको सतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह – Kanika Khabar
Saturday, October 31Nepali News Portal

कुलेखानी जलाशयको सतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

    मा प्रकाशित

काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार दिउँसो १२ बजेको मापनअनुसार जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।

जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो साइरन बजाउने र मोबाइल सन्देशमार्फत सूचना पठाउने तयारी गरिएको छ । जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा भए बाँधको सुरक्षाका लागि मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सूचनामा उल्लेख छ ।

विशेषगरी सिस्नेरी खोला र बागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज राति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।

जलाशयको पानीको बहाव व्यवस्थापन गर्न ढोका खोल्नुपर्ने अवस्था आए दोस्रो र तेस्रो चरणका आपत्कालीन साइरन बजाउनुका साथै मोबाइल सन्देशमार्फत जानकारी गराइने जनाइएको छ । जलाशयको अवस्था निगरानी तथा आवश्यक व्यवस्थापनका लागि प्राविधिक टोलीशुक्रबारदेखि नै कार्यक्षेत्र र नियन्त्रण कक्षमा तयारी अवस्थामा परिचालन गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्