स्वयंम्भूमा एउटा बुद्ध – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

स्वयंम्भूमा एउटा बुद्ध

    मा प्रकाशित

सृष्टिको हजारौं वर्षपछि
सम्भावित प्रलयको अघिल्लो सन्ध्यामा
खै कुन आशक्तिले हो
आमाले भन्नुभयो
कमलको फूल र तिमी उस्तै छौ
आपाले भन्नुभयो
भृकुटी र तिमी उस्तै हौ

मैले मानें म फूल हुँ
फुल्नु धर्म हो
पुष्पदलको माथिल्लो तहमा फुलाएँ पुनः गुरु रेम्बोर्छे
मैले मानें म तारा हुँ
बोकेर हिडें फेरि एकपटक ज्योबो बुद्ध

यतिखेर
म हरिततारा हजारौं अरु ताराहरुसंग
यो भुगोलको अन्तिम बिन्दुसम्मै यात्रारत छु
मलाई स्थापित गराउनुछ
कुनै सम्या गुम्बामा ज्योबो बुद्ध
र रोक्नु छ उदाउन त्यो सात घाम, सात जून
ताम्बाले भने जस्तो
माटो मैन नबनोस
र उन्युमा फूल नफुलोस

तर यहाँ त कि जिउँदो जाग्दो मान्छेहरुको लाशको पहाड छ
कि रगतको नदी छ
हातहातमा बोकेर बुद्ध
किन बोलिरहेछ यिनिहरु हिंसाको भाषा ?
किन भत्काईरहेछ मान्छेहरु आफ्नै सभ्यताको पर्खाल ?
कसरी पार्न सकेका कोमल हृदयको फक्लेटा ?
यहाँ देखिएको छ विचारको बिभाजित आकाश
आखिर यो बिभाजनको अन्तिम स्वरुप कस्तो हुन्छ ?

मलाई, तिमीलाई, हामीलाई त
बनाउनुछ शान्तीको आयतन यति फराकिलो कि
जति यो भुगोलमा लुङगदरको फैलावट छ
हामी सब सब विध्वंश हैन विनिर्माणमा विश्वास गर्छौं
आखिर हाम्रा पुर्खा शान्तिका दूत थिए
आमाले त भन्नुभएकै हो
उहिल्यै ह्वाङ नदीको किनारै किनार
दौडिएर
उत्तरी हिमशृखंला बेपत्ता नाघेर आउने
श्वेत घोडाको पदचाप खोतलेछौ भने
भेट्नेछौ तिम्रो आखेको जोर आँखाहरु
जसले उहिल्यैदेखि शान्तीको दियो बालेर उभ्याएका थिए
स्वयंम्भूमा एउटा बुद्ध

[नोट
गुरु रेम्बोर्छेः गुरु पद्म्सम्भव
हरित ताराः बौद्ध धर्मावलम्बीहरुले भृकुटिलाई बोलाउने नाम
सम्या गुम्बाः स्तिब्बतको पहिलो गुम्बा
ज्योबो बुद्धः नेपालबाट भृकुटीले तिब्बतमा पहिलोपटक बौद्ध धर्म स्थापित गराउन स्रङचङगम्पोसंग विवाह गरेर जाँदा लगेको बुद्धको प्रतिमा, त्यस अघि तिब्बतमा बोन धर्म थियो
ताम्बाः तामाङ जातिमा प्रकृति, संस्कृति व्यख्यता]

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्