कुरुप कविता – Kanika Khabar
Friday, April 26Nepali News Portal

कुरुप कविता

    मा प्रकाशित


एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता
एक्लै कति
सौन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता
आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ।
सबैभन्दा कुरुप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता
सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता
आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ।
आऊ प्रिय कविहरु
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
र हेरौं
कविताको बत्ति निभेपछि
अझ कति अँध्यारो देखिँदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता।
के अन्तर छ
मन्दिर र वेश्यालयको नग्नतामारु
के अन्तर छ
संसद भवन र आर्यघाटको दुर्गन्धमारु
के अन्तर छ
न्यायलय र मासु पसलको क्रूरतामारु
यिनीहरुकै पर्खाल बाहिर
सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता।
आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ।
आऊ प्रिय कविहरु
आजै कविताको मृत्यु घोषणा गरौं
र हेरौं
झन कति जीवन्त देखिँदो रहेछ
कविताको लासमाथि जन्मिएको कविता।
हेरौं
कविताको मृत्युमा खुसीले
कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक
कति टाढासम्म सुनिँदो रहेछ सत्ताको अट्टहास
र कति उदास देखिँदो रहेछ कलाको अनुहाररु
सुन्दर कविताहरु लेख्नलाई त
सुन्दर समय बाँकि नै छ
किन आज लेख्न मन लागिरहेको छ
समयको अन्तिम लहरसम्म
नलेखिएको
सबैभन्दा कुरुप कविता।
जसरी बन्दुकले लेख्छ
हिंसाको कुरुप कविता सहिदको छातीमा।।
एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्