कविता : मेरा अक्षरहरू – Kanika Khabar
Friday, April 26Nepali News Portal

कविता : मेरा अक्षरहरू

    मा प्रकाशित


कलमभित्रको झ्यालखानामा
बन्दी बनाईएका मेरा अक्षरहरू
दबिएका छन्, निसास्सिएका छन्
स्वतन्त्रताका लागि कोहोलो हालेर
चित्कार गर्छन्
तिनका रोदन सुन्दा दया पलाउँछ
अनि सेतो कागजका पाना भरि
छताछुल्ल पोखिदिन्छु मेरा अक्षरहरू
तर स्वतन्त्रताको उन्मादमा
मात्तिएका मेरा अक्षरहरूले
मेरो सिर्जनालाई मात दिन्छन्
ति अक्षरहररुलाई एकआपसमा जोडेर
एकताको डिकाभित्र समाहित गरी
सुन्दर शब्दहरुको जाल बुन्ने
अनि जनतासामू पस्किएर
भ्रमको खेती गर्न लालायित म
तर बिद्रोही अक्षरहरू
समास होइन, विग्रहमा रमाउँछन्
अनेक प्रपञ्च रच्छु
अक्षरहररुलाई शब्दमा बदल्न
कोहिलाई प्रलोभनमा पारी
ईकारको श्रीपेच पहिराइदिन्छु
अटेरी अक्षरहरुको खुट्टा काटिदिन्छु
कसैलाई उकारको दाम्लोले बाँधेर
मेरो वशमा राख्न खोज्छु
तर आफू आफैमा पूर्ण छु
भन्ने अहंकारले अन्धा मेरा अक्षरहरू
व्याकरणको संकुचित दायरा तोडेर
कागजको पाना भरी छाडा बुर्कुसी मार्छन्
अनि मेरो सिर्जनाले पूर्णता नपाउँदा
आवेगको मसिले
अटेरी अक्षरहरुलाई केरमेट गरिदिन्छु
अक्षरहररुको अस्तित्व मेटाइदिन्छु
अक्षरहररुको बिद्रोहको बिचमा
जन्मिन नसकेका मेरा शब्दहरु
अक्षरहररुको हत्या सँगै
निशब्द हुन्छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्