प्रश्नहरु सदिऔँ देखि अनुत्तरित नै छन्
जमिन मुनिबाट कसले लेख्छ आकाशको क्यानभासमा अक्षर जस्ता लाग्ने रुखका हाँगाहरु ?
काठेचरो किन ठुङ्गिरहन्छ कुनै वीर योद्धाको भन्दा चौडा छातीभित्र प्रहार ?
सागरभित्र पौडिरहेका यी लामबद्द मछ्लिहरुलाई कसले फुक्यो रङ्गिन जीवन ?
चरीहरुलाई कसले सुम्पेको हो भुर्र उड्न एक जोडी पखेटा ?
यी पहाडहरु के को दम्भले अजङ्ग उभिएका छन् बर्षौदेखि ?
यी झरनाहरु कसको आदेशले लगातार फाल हानिरहेछन् बेपर्वाह ?
यी नदिहरुलाई कसले सिकायो गुनगुनाउँदै अविरल बग्न ?
कहाँ कहाँ रिसको आगो पालेर फुट्न तयार छ ज्वालामुखि ?
आकाश गङ्गाको झ्यालमाथि बसेर कसले बनायो पृथ्वीलाई घुमिरहने दास ?
कसले लेख्यो शुन्यताको कागजमा यो अनन्त आकाश ?
कुन चित्रकारले कोरेको अति सुन्दर चित्रहरु,यी अनगिन्ती ताराहरु ?
कुन खोपडीको खाल्डोमा टाङ्गेको होला अहिले अरस्तुको आँखा ?
बुद्धको छाला कुहिएर फल्यो होला कुन वृक्ष ?
हुर्कियो होला त्यो पात चपाएर कुन प्राणी ?
कुन पानीमा मिसिएर बिलायो शुक्रातको शरीरबाट निचोरिएको हेमलक ?
खै,कता हराएर गयो जुलियर सिजरले जितेको त्यो रोम शहर ?
कुन,ठ्याक्कै कुन शुक्रकेट हुँ म मेरो बाबुको जसले भेट्टायो मेरी आमाको अण्ड ?
कहाँ,ठ्याक्कै कहाँ खसेको थियो होला मेरी आमाको कोखबाट मसँगै खसेको साल ?
थाहा छ,
प्रश्नहरुको ओडारभित्र निसासिएर समातेका हौँ हामीले आधार
केहि प्रश्नहरु उत्तर बिनै सुन्दर देखिन्छन्
नदेखाऊ मलाई अब दश टाउके ईश्वर
नबेच क्रिस्टको क्रुसिफायल तस्बिर
नबोकाऊ मलाई कम्युनिस्ट मेनीफेस्टो
नबोकाऊ मलाई जेहाद छेड्ने बिस्फोटक ब्याग
कृपया,नबनाऊ मेरो गिदी मुछेर गुलिया गुलिया जेरीहरु
संकल्प लिन तयार भइसकेको छु म अब
थाहा छ मलाई,
यहाँसम्म मैले जिन्दगी आफैंले बुझ्दै लेखेको हुँ
त्यहाँसम्म पनि जिन्दगी आफैंले बुझेर लेख्नेछु ।
मा प्रकाशित