कविता – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

कविता

    मा प्रकाशित

मेरो कविता
तिम्रो दिल कहिल्यै छुन नसकेको
तिम्रो कहिल्यै आफ्नो हुन नसकेको
फगत् अर्थहीन शब्दहरुको गुजुल्टो
मेरो कविता
षडयन्त्रको तानाबाना बुन्न नजानेको
को आफ्नो को पराई चिन्न नजानेको
फगत् तिम्रो कालो पिरतीमा अन्धो
मेरो कविता
काव्य नियम तोड्नलाई कुनै भय नभएको
कव्यरस ताल श्रृङ्गार कुनै लय नभएको
फगत् चुँडेको सारङ्गीको तार जस्तो
मेरो कविता
शिशिरमा बिछोडको तुषारोले नुहाउने
ग्रीष्ममा यादहरुको धुनी बाली निदाउने
फगत् तिम्रो उपेक्षामा बहुला भएको
मेरो कविता
पिडा रोदन क्रन्दन अनि कहिल्यै नहाँसेको
शोभनीय आभुषण अलंकार नगाँसेको
फगत् मरुभूमिमा विलाइजाने एक थोपा आँशु
मेरो कविता
सुनका पङ्ख हालेर नि उड्न नसकेको
पिरतीको कमजोर गलपासो चुँड्न नसकेको
फगत् भावनाहरुको कमजोर त्यान्द्रो
मेरो कविता
तिमीले आँखैमा राख्दा झन् बिझाउने
मनमा राख्दा तिम्रो मगजले गिज्याउने
फगत् तिम्रै श्राप र उपेक्षाको उपज
मेरो कविता

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्