कविता : म क्लियोपेट्रा सृष्टिको एउटा सुन्दर भूल – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कविता : म क्लियोपेट्रा सृष्टिको एउटा सुन्दर भूल

    मा प्रकाशित

खन्याइदेऊ मेरो आँतमा
अभिशापका बोतलहरु
पोखिदेऊ मेरो छातीमा
आरोपका बोतलहरु,

म क्लियोपेट्रा : तिरस्कार पिइदिन्छु
म क्लियोपेट्रा : घृणा पिइदिन्छु
म क्लियोपेट्रा : हेला पिइदिन्छु

म अभ्यस्त रक्सीका बोतलसँग
-आफ्नै पीडा पिइदिन
म अभ्यस्त रक्सीका मातसँग
– आफ्नै पिर पोखिदिन
खन्याउँदै जाऊ तिमी
– अविरल गतिमा
– रक्सीका बोतलहरु
– मेरो ओठको मुहान खोलेर
रित्याउँदै जाऊ तिमी
– अविराम गतिमा
– रक्सीका बोतलहरु
– मेरो छातीको ढक्कन खोलेर

सायद, थाकौला तिमी आफैंसँग
तर म, कदापि थाक्ने छैन
सायद, हारौला तिमी आफैंसँग
तर म, कदापि हार्ने छैन
म कायल रक्सीका स्वादहरुसँग
म घायल रक्सीका मातहरुसँग

सलाम गर्छु म, कक्टेल पार्टीहरुलाई
चुम्बन दिन्छु म, रक्सीका बोतलहरुलाई
प्रेम गर्छु म, चियर्सका जोसिला आवाजहरुलाई
समाजका हाँसोहरुलाई हेर्न चाहन्नन्
– मेरा आँखाहरु
समाजका भाषाहरुलाई बुझ्न खोज्दैनन्
– मेरा कानहरु

म बदनाम : समाजका आँखाहरुमा
म उदाहरण : समाजका कुराहरुमा
म विष्फोटन : समाजका सहस्यहरुमा
म विरोधी : समाजका नाराहरुमा
म अपराधी : समाजका कानुनहरुमा
म सुन्दर भूल : समाजका सृष्टिहरुमा

*****

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्