कविता : चिबेचरा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कविता : चिबेचरा

    मा प्रकाशित

म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?

के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रङ्गिन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैँ
रङ्गिन प्वाँखहरु फिँजारेर
दर्शकको लागि नाच्नै पर्छ ?
के कोइलीको झैँ
मधुर आवाजमा गाउनैपर्छ ?

तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौँ रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौँ पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ

सुगालेझैँ पिँजडामा थुनिएर
गाउँदिनँ म तिम्रो लागि–
गोपीकृष्ण कहू
म होइनँ तिम्रो शान्तिको प्रतीक परेवा
म होइनँ–
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ

यो देशलाई हुरीले उडायो भने
खस्ने छ मेरो गुँड पनि रुखबाट
र मर्ने छन् मेरा बचेराहरू
यो देशमा सूर्य मर्‍यो भने
मेरो पनि अन्त्य हुने छ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत
र मेरो पनि दाबी छ
म यो देशको राष्ट्रिय चरा हुँ

यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्