सोंचेथे,
अब लेख्नु नपर्ला मलाई
बन्द, हडतालका कविताहरु ।
सोंचेथे,
अब लेख्नु नपर्ला मलाई
बारबार देश घाइते बनेका कविताहरु ।
मैले सोंचेथे,
अब लेख्नु नपर्ला मलाई
भोक, रोग र शोकका कविताहरु ।
सोंचेथे,
अब लेख्नु नपर्ला मलाई
दुःख, आँशु र अभावका कविताहरु ।
बिर्सेर सबैसबै
अतितका रंगहिन पानाहरु
ढुक्कले बसेर कल्पनाको चौतारीमा
लेख्दै थिए,
छातीको कुना कन्दरामा हिमाल हाँसेको
पहाडहरुमा गुरास फक्रेको
र, तराईमा हरियो मुश्कुराइरहेको कविताहरु ।
तर दुःखको कुरा त यो भइरहेछ,
फेरि मैले पल्टाउनु परेको छ
उहि विषाक्त वेदनाको पुस्तक
र फ्ँयाक्नु परेको छ आगोका कविताहरु
निदाएको बहाना गरिरहेको शासकलाई व्युँझाउन ।