सोती हत्याकाण्डको एक वर्ष : न्याय नपाएको पीडितको गुनासो – Kanika Khabar
Friday, July 30Nepali News Portal

सोती हत्याकाण्डको एक वर्ष : न्याय नपाएको पीडितको गुनासो

    मा प्रकाशित

जेठ ११, जाजरकोट ।

गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले  पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै  ६ जनाको मृत्यु भएको आज एक वर्ष  भएको छ ।

पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् ।

घटनामा संलग्नमाथि सजायको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनालले बताए । नवराजका साथै अन्य मृतक सञ्जु विक, गणेश बुढा र  लोकेन्द्र सुनारका बुवाआमाले छोराहरूका सम्झनामा लाखबत्ती बालेर  पूजा गरे ।   हत्यामा संलग्न अभियुक्त ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने मुनलालले बताए ।

पीडित परिवारका सदस्यले न्यायका लागि आफूहरु चारचार पटक रुकुम जिल्ला र  उच्च अदालत सुर्खेत तथा दुई पटक सर्वोच्च अदालत पुगेको बताएका छन्  । पीडितले घटनाको मुख्य योजनाकार भनिएका प्रकाश मल्लसहित ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको पीडित मुनलालले बताए ।

सोती काण्डमा  संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम (पश्चिम) मा मुद्दा दायर भएको थियो । तीमध्ये २३  आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र  ११ जना तारेखमा छाडिएका छन् ।

अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई रु एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादातारेखमा रहने गरी पुर्पक्ष गरेको थियो । बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिकालाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो ।

त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढालाई पनि साधारण तारिखमै छाडेको थियो । हत्यामा संम्लग्न मानिसहरु अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशासमेत मरेको मृतक सञ्जुका बुवा बलराम विकले पीडा पोखे ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्