अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

    मा प्रकाशित

काठमाडौँ, साउन १३  ।

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारकोतर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गर्नुभयो ।

“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री शर्माले भन्नुभयो । जवाफमा राजदूत पार्कलेले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो । नेपालीको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको थिमि, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताउनुभयो । भेटका क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । आयोजनामा ढिलाइ हुँदालागत बढ्न जानेतर्फ चिन्ता रहेको उहाँले बताउनुभयो ।    रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्