काङ्ग्रेस महाधिवेशन : २२ जिल्लामा अधिवेशन बाँकी, उद्घाटन सत्र आउन १० दिन बाँकी – Kanika Khabar
Saturday, April 27Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : २२ जिल्लामा अधिवेशन बाँकी, उद्घाटन सत्र आउन १० दिन बाँकी

    मा प्रकाशित

काठमाडौं,१५मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उदघाटन सत्र आउन १० दिन बाँकी रहँदा प्रदेश नम्बर २ का अधिकांश जिल्लामा अधिवेशन प्रभावित भएका छन् ।

विभिन्न जिल्लामा विवाद जारी रहे पनि समाधानका विषयमा नेतृत्वले चासो नदिंदा आगामी महाधिवेशन कार्यतालिका प्रभावित हुने संकेत बढेको नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । पाँचौं पटक संशोधित कार्यतालिका अनुसार बिहीबार र शुक्रबार प्रदेश अधिवेशन कार्यतालिका रहेको छ ।

सर्लाही जिल्लामा देखिएको विवादका विषयमा केन्द्रीय निर्वाचन समितिले शीर्ष नेताहरुलाई जानकारी गराए पनि ठोस् कदम नचालिएको निर्वाचन समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यता विवादका कारण ढिलोगरी सुरु भएका प्रदेश २ का जिल्लामा भरखरै वडा तहको अधिवेशन हुँदैछ । अन्य जिल्लामा प्रदेश अधिवेशन सकिंदा ती जिल्लामा क्षेत्रीय अधिवेशन सक्ने निर्वाचन समितिको तयारी थियो ।

तर, ती जिल्लामा पठाइएका निर्वाचन अधिकृत नै असुरक्षित हुन थालेपछि अन्तिम विकल्प अधिवेशनका कार्यक्रम नै स्थगन गर्ने तयारी रहेको निर्वाचन समितिको भनाइ छ ।

सलार्हीको बलरा नगरपालिका( ८, अचलगडमा दुई समूहबीच सोमबार राति झडप हुँदा मतदान अधिकृतसहित केही घाइते भए । बलरा( ९ मै आइतबार राति गोली चलेको थियो ।

अहिलेसम्म ५७ जिल्लामा जिल्ला नेतृत्व चयन गरेको कांग्रेसले प्रदेश २ मा वडा तहकै अधिवेशनमा अल्झिएको छ । रसुवा जिल्लामा क्रियाशील सदस्यता विवादका कारण पालिका तहभन्दा माथिका अधिवेशन हुनसकेका छैनन् । सिन्धुपाल्चोकमा जिल्ला नेतृत्व आउन सकेको छैन ।

अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको छ । प्रदेश २ का आठसहित २० जिल्लामा अधिवेशन हुन बाँकी छ । चितवनमा एमालेको १० औं महाधिवेशनका कारण रोकिएको जिल्ला अधिवेशनको मिति तय हुनसकेको छैन ।

बाँकेमा प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशनको मिति तय भएको छ । मोरङ र सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको छ । डडेलधुरामा दुई समूहबीच अझै विवाद कायम छ ।

पटक(पटक जिल्लाको विवाद समाधानका लागि पहल गर्न शीर्ष नेतृत्वलाई ताकेता गर्दा सहमति नभएपछि यस अघिका केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले राजिनामा दिइसक्नुभएको छ । महाधिवेशनको मुखैमा गोपालकृष्ण घिमिरेलाई निर्वाचन संयोजक तोकिएको छ ।

शीर्ष नेताहरु आन्तरिक गुटमा अल्झँदा त्यसको असर जिल्लामा परेको नेताहरुको भनाइ छ । ५७ जिल्लाको अधिवेशन सम्पन्न हुँदैगर्दा नेताहरु भने अहिले अंकगणितको खेलमा जुटेका छन् ।

यता,केन्द्रीय निर्वाचन समितिले भने निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । मंसिर २४ गते बिहानबाट निर्वाचन प्रक्रिया सुरु हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्