प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम

    मा प्रकाशित

जनकपुर,३ माघ ।

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । आज भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । स्थायी राजधानीको टुंगो लगाएसँगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्