आज खुमबहादुर खड्का चौथो स्मृति दिवस – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

आज खुमबहादुर खड्का चौथो स्मृति दिवस

    मा प्रकाशित

चैत्र १६, दाङ ।
आज खुमबहादुर खड्का चौथो स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गरी मनाउन थालेको हो ।
२०७४ साल चैत्र १६ गते खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
खड्काको सम्झनामा नेपाली काङ्ग्रेस दाङ र काङ्ग्रेसका विभिन्न तहले कार्यक्रमको तय गरेका छन् ।

सङ्क्षिप्तमा खड्कालाई सम्झदा

खड्का नेपालको राजनीतिमा प्रभावशाली नेताका रुपमा चिनिन्थे । दाङबाट राजनीति गरेका खड्का प्रस्ट बिचार र अडान राख्ने निडर र हठी स्वभावका थिए । उनी कांग्रेस राजनीतिमा केन्द्रदेखि तल्लो तहसम्म शक्तिशाली र लोकप्रिय बनिरहे ।

नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापनामा खड्काले सक्रिय भूमिका निर्वाह गरेका थिए । राजनीतिका क्रममा खड्काले लामो समय जेलमा र प्रवासमा जीवन व्यतित गरेका थिए । २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर खड्का विपी कोइरालासँगै स्वदेश फर्किएका थिए ।

खड्का कहिले कोइराला त कहिले देउवा पक्षमा लागेर शक्तिशाली लाभको पदमा रहिरहे । २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदको सदस्यमा खुमबहादुर खड्का र शेरबहादुर देउवा पनि थिए ।

२०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा पनि खुमबहादुर खड्का मन्त्री बने । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् उनी । ०५८ अघिका प्रायः हरेक सरकारमा खड्काले प्रभाव जमाइराखे ।

कांग्रेस बिभाजन हुँदा खड्का शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा लागेका खड्का काङ्ग्रेसको एकीकरणपछि पुनः संस्थापन पक्षमा फर्किए । कांग्रेसको १३ औं महाधिवेशनमा खड्का देउवा प्यानलको प्रमुख योजनाकारका रुपमा उदाए । खुमबहादुरले साथ नदिएको भए शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुन नसक्ने काङ्ग्रेसको राजनीतिक वृत्तमा अझै पनि चर्चा हुने गर्दछ ।

खड्का माओवादीको खरो आलोचक थिए। त्यसैले उनी माओवादीको निशानामा परे । दाङ देउखुरीको सतबरीयास्थित उनको घरजग्गा माओवादीले कब्जा गरेपछि उनी सपरिवार ललितपुरको सानेपास्थित घरमा बस्न थालेका थिए ।

२०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परे । भ्रष्टाचारको मुद्दामा परे पनि खड्काको राजनीतिक लोकपिैयता भने घटेन । २०६३ सालमा विशेष अदालतले सफाइ दियो । खुमबहादुरविरुद्धको सो मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको ठहर गर्दै खड्कालाई डेढ बर्ष जेल सजाय समेत सुनायो ।
त्यसपछि कांग्रेस नेता खड्का न सरकारमा रहे, न पार्टीको शक्तिशाली पदमा । तर उनको ओज भने घटेन । मन्त्री चयन गर्दा होस् या चुनावमा टिकट वितरण गर्दा होस्, खुमबहादुरकै बोली बिक्थ्यो । जिल्ला अधिवेशनबाट पनि खुमबहादुर खड्का पक्षका नेताहरु चुनिन थाले । दाङमा त उनको एकछत्र राज चल्यो । अझै पनि उनको गृह जिल्ला तथा देशभरका उनका पक्षका नेता उनको नामबाटै राजनीति गर्ने गर्दछन् । भर्खरै पार्टीको सम्पन्न १४ औँ महाधिवेशनमा पनि खड्का तस्वीर र नाम राखेर आफ्नो प्रचार प्रसार गर्नेहरुको भीड देखियो । यसले अझै पनि खड््काको राजनीतिक प्रभाव जीवित रहेको पुष्टि गर्दछ ।

खुमबहादुर नेपाललाई धर्मनिरपेक्ष घोषणाको विपक्षमा थिए । कांग्रेसले धर्म निरपेक्षतामा समर्थन जनाएकोमा उनी खुला विरोध गर्दथे । पार्टी नेतृत्वले गलत निर्णय लिएकाले कांग्रेस कमजोर हुँदै गएको बताउने खड्काले हिन्दु राज्य पुनःस्थापनाको अभियानसमेत चलाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्