यहाँ लकडाउन छ
ए कालिपारे दाई
यहाँ लकडाउन छ
तिम्रो ‘लक’, तिम्रो भाग्य त सधैँ ‘डाउन’ नै छ नि
कालापहाडमा तिमीले फोडेका पत्थरझैँ
तिम्रो कर्म कच्च्रघान फुटेको छ
तिमीले त कालापहाडको बाटोमा पसिना बगायौ
यो बाटो तिम्रो लागि बन्द छ
तिम्रो त्यो झुत्रो शरीर, चर्किएका खुट्टाहरु
यो समृद्धिको बाटोमा घिसार्ने कुचेष्टा नगर्नु
त्यसले सरकारको उपहास गर्नेछ
महामारीले परदेशबाट बढारिएर
यहाँको बाटोको कसिङ्गर नबन्नु
कसिङ्गर बढार्ने चुस्त दुरुस्त सरकार छ
तिम्रा भोका नांगा लालाबालाहरु
हाहाकारमा चिलिबिली भएर चित्कार गर्न पाउने छैनन्
किनकि गाऊँ गाऊँमा सिंहदरबार छ
जसले कुहिएका कनिकाका कणहरु
तिम्रो आँगनमा छरिदिएकै छ
तिम्रा लागि मासु भात त चुनावको बेलामा दिएकै हो नि
तिम्रो गन्तव्यको गाडी चुनावको बेलामा गुडेकै हो नि
यो मौसम तिम्रो लागि होइन
त्यसैले बेमौसमी बाजा नबजाऊ
मिठो चाकडी र चाप्लुसीको झोला बोकी
सिंहदरबार नलागेर
आफ्नो लालाबालाहरुको एकछाक खाना र एकसरो नानाको
अतृप्त सपनाहरुको पोको पन्तुरो झोलाभित्र राखी
तिमी झोले परदेश लाग्यौ
जसले ३३ किलो सुन पचाए
जसले सरकारी जुठो नुन खाए
तिम्रो त्यो अभावको आवाजलाई मत्थर पार्न
तिम्रा लागि, उनीहरु आज सबै पत्थर भएका छन्
तिमी आफ्नो आँसु आफै पिउँदै तृप्त होऊ
दोपहरको घाममा
तिमी अलपत्र परेको बाटोको विचमा उभिएर
आशाले पुलकित भएका तर भावहीन आँखाहरुले उः पारीतिर हेर
त्यहाँ एक आशाको त्यान्द्रो मृगतृष्णा देख्ने छौ
हो, त्यसलाई पछ्याऊँदै हिँड, हिँडिराख, हिँडिराख…
मानवताका बिस्कुनहरु बाहिर सुकाएर
सरकार त दरबारभित्र छ
किनकि यहाँ लकडाउन छ
तिम्रो ‘लक’, तिम्रो भाग्य त सधै ‘डाउन’ नै छ नि ।
********