विप्लव नेतृत्वले सरकारलाई भन्यो : हातमा दही जमाएर बस्ने छैनौँ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

विप्लव नेतृत्वले सरकारलाई भन्यो : हातमा दही जमाएर बस्ने छैनौँ

    मा प्रकाशित

साउन १६, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द समूहको नेतृत्वले सरकारलाई हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा सरकारलाई कडा चेतावनी दिएको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएका हुन् । सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने भन्दै नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकेन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ।’

सहमतिअनुसार पार्टीका कार्यकर्तालाई अहिलेसम्म रिहा नगरिएको, सरकार र राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्न र राजबन्दी रिहा गर्ने सहमतिको तेस्रो बुँदा लागू गर्न प्रतिबद्ध नभएको पनि नेकपाले बताएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्