कम्युनिष्ट र समाजवाद सिकाउँदै एमाले – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

कम्युनिष्ट र समाजवाद सिकाउँदै एमाले

    मा प्रकाशित

दाङ, १७ साउन ।
नेकपा एमालेले कम्युनिष्टका आधारभूत सिद्धान्तदेखि समाजवादका आधार खोज्न कार्यकर्तालाई मसिनो तरिकाले प्रशिक्षण थालेको छ । एमाले दाङको बैठकका निर्णयअनुसार प्रत्येक पालिकामा अगुवा कार्यकर्ता जम्मा गरेर प्रशिक्षण थालेको एमालेले दाङले जनाएको छ ।

जिल्लाका दशै पालिकामा यो प्रकारको अभियान थालिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । उनका अनुसार प्रशिक्षण मुख्य गरेर कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने आधारभूत ज्ञानदेखि, समाजवादका आधार र आगामी निर्वाचनमा संगठन परिचालनमा केन्द्रित छ । जिल्लाका दश पालिकामध्ये अधिकांश पालिकाको प्रशिक्षण सकेको एमालेले मंगलवारदेखि उपमहानगरपालिका केन्द्रित भएको छ ।

मंगलवार, बुधवार र विहीवार उपमहानगरपालिका यस्तो प्रशिक्षण राखिएको छ । घोराहीमा मंगलवार, बुधवार र तुलसीपुरमा बुधवार र विहीवार प्रशिक्षण छ । घोराहीको प्रशिक्षण मंगलवारदेखि सुरु भएको छ । एमाले घोराही नगर कमिटीको आयोजनामा भएको प्रशिक्षणमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरीले विगतका आन्दोलनले राजनीतिक कार्यभार पूरा गरेको भए पनि सामाजिक र आर्थिक कार्यभार बाँकी भएको बताए ।

‘वर्तमान राजनीतिक अवस्था र आगामी कार्य दिशाका विषयमा प्रशिक्षण दिँदै इन्चार्ज चौधरीले भने– ‘सामाजिक, आर्थिक रुपान्तरणका काम बाँकी छ । त्यो पूरा गर्न सत्ताप्राप्ति नै हो । आउँदो संघ र प्रदेशको चुनावमा पार्टीले जित्नु नै पार्टीको मुख्य कार्यभार हो । त्योअनुरुप पार्टी र संगठन परिचाल नै पहिलो प्राथमिकता हो ।’ उनले विगतमा पार्टीले संविधान निर्माण, देशको विकास निर्माण र सुशासनमा खेलेको भूमिकाका बारेमा चर्चा समेत गरेका थिए ।

प्रशिक्षणमा एमाले नेता जीवन गौतमले जनताको आभारभूत कुराहरु पूरा नभएसम्म समाजवाद आउन नसक्ने भन्दै त्यो दिशामा केन्द्रित भएर काम थाल्नुपर्ने बताए । समृद्धि र समाजवादमा स्थानीय तहको भूमिका विषयमा उनले प्रशिक्षण दिएका थिए । ‘समाजवाद हाम्रो लक्ष्य हो । तर त्यो लक्ष्य पुग्नको लागि त्यो अनुसारको योजना र काम चाहिन्छ’, नेता गौतमले भने– ‘त्यसको लागि योजना बनाएर नै काम गर्नुपर्छ ।’

दुई दिनसम्म चल्ने प्रशिक्षणको लागि एमालेले पार्टीका केन्द्रीय नेतादेखि विश्वविद्यालयका प्राध्यापकहरुलाई उपयोग गरेको छ । बुधवार पार्टीका महासचिव शंकर पोख्रेलले समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनेछन् । नगर कमिटी अध्यक्ष भुनव चौधरीका अनुसार प्रशिक्षणले पार्टी परिचालनदेखि, अनुशासन र कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने आचार र वर्तमान अवस्थाका बारेमा जानकारी लिन सहज हुनेछ ।

विशेषगरेर पार्टीका सिद्धान्तदेखि अन्य विषयमा यो प्रशिक्षण केन्द्रित छ’ उनले भने– ‘यसले कार्यकर्तादेखि नेताहरुमा समेत उत्साह ल्याउने काम गर्नेछ ।’ नेकपा एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले कार्यकर्तामा थप उर्जा ल्याउन प्रशिक्षणले भूमिका खेल्ने विश्वास व्यक्त गरे । पार्टीको निर्णयअनुरुप स्कुल विभाग पालिका कमिटीको संयोजनमा जिल्लाका दशै पालिकामा प्रशिक्षण सञ्चालन भएको बताए ।

‘प्रशिक्षण सकेका पालिकाबाट महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । ती सुझाव पार्टीको लागि सिकाई भएका छन्’, उनले भने– ‘ती सुझावलाई आत्मसात् गर्दै आमागी दिनमा योजनामा ती सुझाव सम्बोधन गरिने छ ।’ प्रशिक्षण नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर कमिटी उपाध्यक्ष तारा पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर कमिटी उपसचिव काशी खनालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्