कोइलाबास भन्सारमा अनलाइन विलिङको तयारी – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

कोइलाबास भन्सारमा अनलाइन विलिङको तयारी

    मा प्रकाशित

अमरराज आचार्य

दाङ, ६ भदौ ।

दाङको एकमात्र नाकामा रहेको कोइलावास भन्सार कार्यालयमा राजश्वको कारोवार अनलाइन विलिङबाट गर्नेे तयारी गरिएको छ । अहिले भन्सार कार्यालयले लिखित रुपमा नै विलिङको काम गर्दै आएको छ ।

नेटको समस्याको कारण अनलाइनबाट काम हुन नसकेको कोइलावास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले जानकारी दिए । ‘अबको एक दुई दिनभित्र अनलाइन विल काट्ने तयारी गरेका छौँ’, प्रमुख रजौरेले भने । गढवाबाट नेटको तार लगिए पनि राम्रोसँग काम नगर्दा समस्या भएको उनले बताए । करिब २८ किलोमिटर टाढाबाट जंगलको बाटो भएर नेटको तार लगिएको कारण विभिन्न समस्या देखिने गरेको उनको भनाइ रहेको छ । तर पनि नेट राम्रोसँग चलाउनका लागि टेकमाइन कम्पनीले प्रयास गरिरहेको उनी बताउँछन् ।

‘नेट जोडेर काम सुरु गर्न थालिए पनि सिष्टम चल्न नसक्दा अनलाइनमार्फत बिल काट्ने काम हुन नसकेको हो’, प्रमुख रजौरेले भने । फेरि प्राविधिक रुपमा समस्याको समाधान गरी अनलाइनको तयारी थालिएको उनले बताए । अनलाइनमार्फत बिल काट्नका लागि आवश्यक पर्ने सामग्री खरिदसमेत गरिसकिएको छ । ‘हामीले हाम्रो तर्फबाट तयारी गरेका छौँ’, उनले भने । मन्त्रालय तथा विभागसँगको समन्वय भइरहेको र अबको एक÷दुई दिनभित्रैमा अनलाइन गराउने गरी काम गरिरहेको उनको भनाइ रहेको छ ।

केही समय पहिले अनलाइनमार्फत काम गर्ने तयारी गरिए पनि सफल हुन सकेको थिएन् । अनलाइनमार्फत काम हुन नसक्दा अहिले लिखितरुपमा काम गर्ने गरिएको प्रमुख रजौरेले बताए । लिखितरुपमा भारु ३० हजारसम्मको मात्र बिल काटने गरिएको छ । जसले गर्दा धेरै सामग्री ल्याउनेहरुलाई समस्या पर्ने गरेको छ । सहजरुपमा ल्याउन नपाएपछि अन्य बाटो भएर ल्याउने गर्दछन् । भन्सारमा अहिले व्यक्तिगत रुपमा घरायसी सामग्री ल्याउने गरेका छन् । व्यवसायीहरुले पनि थोरै मात्रामा सामान ल्याउने गरेको उनको भनाइ रहेको छ ।

नाका सञ्चालनमा आए पनि व्यवसायीहरुले पहिले ल्याइरहेको स्थान परिवर्तन गर्न समय लाग्ने रजौरेले बताए । ल्याइरहेको स्थान परिवर्तन गर्न समय लाग्ने बताइएको छ । कोइलावास नाकामा क्यारेन्टाइन नहुँदा पनि व्यवसायीहरुले समस्या भोग्नुपरेको छ ।

त्यसैगरेर कोइलावासबाट गढवा, लमही जाने बाटा घुम्ती भएकाले ठूला गाडीहरुलाई घुम्तीमा समस्या हुने बताइएको छ । लामो समयको प्रयासपछि दाङको एकमात्र कोइलावास नाका सञ्चालमा आएको हो । लामो समयसम्म बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाहरुको प्रयासपछि नाका सञ्चालनमा ल्याइएको थियो ।

नेपालमा भन्सार भए पनि भारतले कस्टम नराख्दा नाका सञ्चालन हुन सकेको थिएन् । साउनको दोस्रो सातापछि भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनमा आएको हो । नाका खुलेसँगै अहिले कोइलाबासबाट नै आयात तथा निर्यातसमेत सुरु भएको छ । कुनै समयमा देशको दोस्रो चल्तीको भन्सारमा रहेको भन्सार पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै यो भन्सार सुनसान रहेको थियो ।

भन्सार सुनसान भएसँगै उक्त क्षेत्र खण्डहर भएको थियो । पछिल्लो समय कोइलावाससम्म बाटो कालोपत्रे भएसँगै चहल–पहल बढेको थियो । नाका सञ्चालनमा आएपछि सामान आयात–निर्यातमा सहज हुने जिल्लाका व्यवसायीहरुले बताएका छन् । दाङकोे एकमात्र भारतसँगैको नाका कोइलावास हो ।

कोइलावास नाका सञ्चालन नहुँदा जिल्लाबाट आयात–निर्यात गर्दा रुपैडिया, कृष्णनगरको नाका भएर सामग्रीहरु ल्याउनु÷लैजानुपर्ने बाध्यता रहेको थियो । रुपैडिया तथा कृष्णनगर नाका प्रयोग गर्नु पर्दा समयसँगै आर्थिक रुपले पनि बढी खर्च हुने गरेको व्यवसायीहरु बताउँछन् । नाका सञ्चालन भएसँगै दाङसहित साविक राप्तीका नागरिकलाई सहज हुनेछ ।

नाका सञ्चालनपछि राजश्व वृद्धि

कोइलावास नाका सञ्चालनमा आएपछि राजश्व वृद्धि भएको छ । नाका खुलेपछि सामग्री आयात–निर्यात तथा नागरिक एवं सवारी साधनको आवत–जावत गर्न थालेपछि राजश्व वृद्धि भएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष पहिलो साउन महिनामा ३ लाख ७९ हजार ३ सय ८७ रुपैयाँ संकलन गरेको कार्यालयका प्रमुख बसन्त रजौरेले बताए । जुन लक्ष्यभन्दा बढी रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले साउन महिनामा १ लाख ५५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

अस्थायी पैठारीमार्फत धेरै राजश्व संकलन हुने गरेको प्रमुख रजौरेले बताए । नेपाल आउने यात्रुले प्रयोग गर्न सवारीका साधनबाट लिने राजश्व धेरै रहेको छ । जसमा कार, जिप मोटरसाइकल रहेका छन् । कोइलावास नाकाबाट धार्मिक पर्यटकहरु धेरै आउने गरेको भन्सार कार्यालयका प्रमुख रजौरेले बताए । स्वर्गद्वारी मन्दिरमा जाने धेरै यही बाटो भएर आउने गरेको उनको भनाइ रहेको छ । भारतबाट कोइलाबाससम्म पहाड हेर्न भनेर आउने गरेको छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्