कर र जरिवाना बढी भएको भन्दै विरोध – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

कर र जरिवाना बढी भएको भन्दै विरोध

    मा प्रकाशित

तुलसीपुर, ८ भदौ ।

यातायात व्यवसायीहरुले विभिन्न मागहरु राखेर आन्दोलन थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति दाङले सवारी साधनमा लिने कर र जरिवाना, घोराही–तुलसीपुर फोरलेन सडक विस्तारसम्वन्धी विभिन्न माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षणसहित ज्ञापन–पत्र बुझाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति दाङका संयोजक भरतनाथ योगी र सचिव घनश्याम बस्नेतको हस्ताक्षरमा बुझाएको ज्ञापन–पत्रमा विगतका दिनहरुमा जाँचपास, रुट–परमिट, ब्लुबुकलगायतमा लाग्दै आएको रकम अत्याधिक मात्रमा वृद्धि हुनुका साथै जरिवाना लाग्ने रकम पनि अत्यधिक वृद्धि भएको भन्दै त्यसलाई घटाउन माग गरिएको छ । कोभिड–१९ को कारणले मारमा परेका यातायात व्यवसायीहरुले यातायातका साधनहरु सञ्चालन गर्न नसकिरहेको अवस्थामा फेरि पनि यातायात क्षेत्रलाई मार पर्ने गरी भएको अस्वाभाविकरुपमा कर–जरिवाना लिने गरी गरेको प्रदेश सरकारको निर्णय गैरजिम्मेवार भएको उल्लेख छ ।

महासंघले यथाशीघ्र यसलाई कार्यान्वयनमा नल्याई यातायात व्यवसायीलाई सवारी साधनहरु सञ्चालन गर्नको लागि आवश्यक सहयोगको अपेक्षा गरेका छन् । रुट–परमिट, जाँचपास बर्ष दिनको नवीकरण गरी सञ्चालन गर्न सहयोग गर्न पनि अनुरोध गरेका छन् । महासंघले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयमा सवारी साधनको कर र जरिवाना सम्बन्धमा ज्ञापन–पत्र बुझाएको महासंघ दाङमा सचिव बस्नेतले बताए ।

उनले पछिल्लो समयमा म्याद सकिएपछि यातायातका साधनमा डेढ गुणा बढी जरिवाना र ३ हजारदेखि ५ हजारसम्म जरिवाना लिने गरेको बताए । ‘यातायात व्यवसायीहरुको ढाड सेक्ने गरी लिइने कर र जरिवानासम्बन्धी नियम फिर्ताको हामीहरुले माग गरेका छौं’, उनले भने– ‘माग पूरा नभए आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति दाङले घोराही–तुलसीपुर सडक खण्डको फोरलेन सडक विस्तारमा भइरहेको ढिलाईप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

२०७५ सालमा घोराही–तुलसीपुर सडकखण्डअन्र्तगत फोरलेन सडक विस्तार गर्ने भनी तथ्य कन्स्ट्रक्शनले ठेक्का लिएकोमा झण्डै ४ बर्षसम्ममा पनि ७ प्रतिशत पनि काम नभएको भन्दै सो बाटो बिग्रिएका कारण सवारी साधनले तेल बढी खानुका साथै गाडीको टुटफुटको कारणले मर्मत अत्यधिक लाग्ने र समयमै गन्तव्यमा पुग्न नसक्ने समस्या भएको ज्ञापन–पत्रमा उल्लेख छ । साथै सो सडकमा यातातातका साधनहरु सञ्चालन गर्दा दुर्घटना भइरहेको र सानो ठूलो सवारी साधनहरु प्रत्यक्ष मारमा परेको भन्दै तत्काल बाटो विस्तारको कार्यलाई अगाडि बढाउन र प्रगति कार्य–विवरण लेखाजोखा गरी सम्बन्धित निकायलाई निर्देशन दिन पनि माग गरिएको छ ।

साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समिति दाङले विभिन्न आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ । मागहरु तत्काल पूरा नभए भदौ ८ गते ९ बजेदेखि १० बजेसम्म १ घण्टा घोराही–तुलसीपुर सडकमा यातायात सञ्चालन नगर्ने, १० बजेदेखि ११ बजेसम्म यातायात व्यवस्था कार्यालय बन्द गर्ने र त्यस पछि १९ गते बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारी साधनहरु बन्द गर्ने सचिव बस्नेतले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्