‘बुबाका अधुरा काम पूरा गर्ने अवसर दिनुहोस्’ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘बुबाका अधुरा काम पूरा गर्ने अवसर दिनुहोस्’

    मा प्रकाशित

असोज ४, दाङ ।
मंसिर ४ नजिकिरहँदा नेताहरुमा टिकटका लागि जत्तिको दौडधूप चलेको छ, त्यत्तिकै जनतामा पनि को कहाँबाट उम्मेदवारी हुन्छ, कसले टिकट पाउँछ भन्ने उत्सुकता बढेको छ । दाङ जिल्ला हरेक निर्वाचनमा बडो अर्थपूर्ण ढङ्गले हेरिदै आएको जिल्ला हो ।

विकासप्रेमी तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको जिल्ला भएका कारण पनि दाङको निर्वाचनलाई चासो र अर्थपूर्ण रुपमा हेरिन्छ । त्यसो त तत्कालीन माओवादी राजनीतिक मूलधारमा आएपछि पनि काङ्ग्रेसको विरासतमा आँच आयो । मतदातामा आएको आस्थागत विभाजन र परिवर्तनका कारण एकलौटी विरासत जमाउँदै आएको काङ्ग्रेसका लागि निर्वाचन कठिन र प्रतिस्पर्धात्मक बन्दै आएको हो ।

 

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनसँगै एक्लै चुनावी मैदानमा भिडेको काङ्ग्रेसलाई केही प्रदेश सदस्यबाहेक प्रतिनिधिसभामा शून्य हात लागेको तीतो अनुभवको अझै मेटिएको छैन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत सङ्ख्या बढाए पनि गठबन्धनमा देखिएको असन्तुलन तथा प्राविधिक कारणका साथ आशातीत परिणाम ल्याउन सकेन ।

 

स्थानीय तहको निर्वाचन सकिए लगत्तै आउँदै गरेको प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनका लागि दल तथा आकांक्षी उम्मेदवारहरु टिकटका लागि दौडधूप गरिरहेका छन् । यही दौडमा छन् – स्वर्गीय खुमबहादुर खड्का पुत्र अनुराग खड्का पनि । काङ्ग्रेस र बाबुको विरासतका रक्षकका रुपमा आफू चुनावी मैदानमा उत्रन चाहेको खड्को अभिव्यक्ति छ ।

 

बाबु निधनपूर्व सक्रिय राजनीतिमा नदेखिएका अनुराग बाबुको देहवसानसँगै सक्रिय राजनीतिमा देखिएका छन् । स्वर्गीय खुमबहादुरको राजनीतिक योगदान र काङ्ग्रेसको राजनीतिमा रहेको निर्णायक भूमिकाका कारण पुत्र अनुरागलाई जिल्लादेखि केन्द्रसम्म ‘राजनीतिक सम्बन्ध’ कायम गर्न भने त्यति सकस भएन । बाबुकै राजनीतिक पृष्ठभूमिबाट राजनीतिमा परिचित भएका अनुराग बाबुका अधुरा सपना, अपूरा कार्यलाई पूर्णता दिन राजनीतिमा आएको बताउँछन् । तपाईंको राजनीतिक यात्रा किन भन्ने कनिका खबरको जिज्ञासामा बुबासँग जनताका अपेक्षा थुप्रै थिए, बुबासँगका ती अपेक्षा जनतालाई दिलाउन आफू राजनीतिमा सक्रिय रहेको बताए । ‘बुबा जनताका आशा र भरोसाको धरोहर हुनुहन्थ्यो । नागरिकका पीडा सधै बुबाका पीडा बने, नागरिकका समस्या सधै बुबाका समस्या बने । जसका कारण पनि बुबाबाट नागरिकले धेरै आशा राख्नुभएको थियो । कतिपय आशालाई बुबाले पूरा गर्नुभयो त कतिपय आशा अधुरै रहेका छन् । बुबाका तिनै अधुरा र अपूरा सपना पूरा गर्ने मेरो अभिष्ट हो ।’ उनले थपे, ‘ बुबाले सधैं भन्ने गर्नुहुन्थ्यो जनताका लागि सधै काम गर्नू, तिमीले गर्ने हरेका कार्य जनताका लागि समर्पित रहनुपर्छ ।’

 

स्वर्गीय नेता खड्का विकासका पर्याय र विकास प्रेमीका रुपमा चिनिन्थे । दाङकै विकासको सुरुवातीका रुपमा खड्का चिनिन्थे । यता पुत्र अनुराग पनि बाबुले सिकाएको राजनीतिक संस्कारबाट हुर्किएको र राजनीतिक संस्कार सिकेको बताउँछन् । ‘म ०७४ सालकै स्थानीय निर्वाचनबाटै जनताका माझमा सक्रियताका साथ लागेका हुन् । ०७९ सालको स्थानीय निर्वाचनमा पनि ग्रास रुटमा घुलमिल भएका अनुराग जनतामाझमा पुग्दा जनताले बुबाले जस्तै काम गर्नुपर्ने जिम्मेवारी दिएको र आशा राखेको बताउँछन् । ‘ नागरिकका घरदैलोमा पुग्दा मेरो अनुहारमा बुबाको ‘बिम्ब’ देखिएको बताउनुभयो । म भाव विह्वल भएँ । उहाँहरु पनि बुबाको सम्झनामा भाव विह्वल हुनुभयो । बुबाको कर्म नछाड्नू, बुबाका थुप्रै सपना बाँकी छन् दाङको विकासका लागि अब ती सपना तपाईंले पूरा गर्नुपर्छ भन्नुभयो ।’

अनुराग दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारीमा सिफारिस परेका छन् । उनीसँगै क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि कृष्णकिशोर घिमिरे, योेगेन्द्र चौधरी र प्रदीप कुमार थापाको नाम सिफारिस भएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्