बाको औँला समाएर ताते गरेको म
एक्लै विश्व भ्रमण गर्ने भइसकेँ
सयपटक क सिक्दा सिक्दै ज्ञ सम्म आइसकेँ
फरक्क फर्केर फेरि नातिको औँलाको सहारा खोज्ने भइसकेँ
विगतको कथा र आगतको कल्पना
एकाकार हुँदोरहेछ यो बेला कुबेला
वर्तमान ठिङ्ग उभिन्छ यस बेला भन्छ–
कस्तो भयो सिङ्गो जीवनको यात्रा ?
हामी परिवेशका कमारा कि मालिक ?
समयको मालिक, समयका दास ?
परम्पराको डोरीले बाँधिएका हामी
मरेपछि बन्धनमुक्त हुन्छौँ
सरकार अँगेनामा गफ हाँक्ने बूढो जस्तो
“सभा गए कुरा नास्ती घरमा जुङाको सास्ती”
यो देश राष्ट्रको ढुकुटीमा तर मार्ने मात्रैको भयो
लूटको धन फुपूको श्राद्ध भन्दा बढी के भयो ?
इमान जमानको शासन बेमान भयो
देश त ढुकुटी भर्ने मात्रैको भयो
पेन्सनपट्टा छैन भने बूढो त्यसै मर्ने भयो
र नेता आफ्नो छैन भने कार्यकर्ता अलपत्रै पर्ने भयो
न जन्मनु थियो मैले–
राजनीति फोहरी खेल बनेको बेला
सास फेर्नै पनि धौ छ कविता कोर्दा
के फरक भयो र कविता र राजनीति
दुबैतिर दखिरहेछु फोहर मैला
अगुवाहरु बाटो बिराएका यात्रु जस्तै भए
जति हिँडे पनि पाइलो मेटिँदै गयो
सत्तरी वर्षको बूढो लोकतन्त्र सहजै ढल्ला जस्तो भयो
लोभी र पापीहरुको राजमा स्वदेश सधैं उत्तानो प¥यो !
कति लेख्ने कविता कवि र नेतामा के फरक भयो ?
भन्छन् लेख्छन् एउटा कुरा कर्म भने बेग्लै भयो
कवि र नेताले मितेरी लाए सत्यद्रष्टा को हुने हो ?
देश बिगार्ने जान्ने सुन्नेहरु, मात्र भ्रमको खेती चल्यो ।
——-*****———-