दाङमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

दाङमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

    मा प्रकाशित

दाङ, ११ मंसिर । दाङमा प्रत्यक्षमा शून्य भएको नेकपा एमाले समानुपातिकमा भने पहिलो पार्टी भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा सदस्य गरेर ९ सदस्यमा एमाले शून्य भएको थियो । तर, एमाले समानुपातिकतर्फ भने खसेको दुई लाख ४८ हजार ९ सय ९ मतमध्ये २७ दशमलव १८ प्रतिशत मत प्राप्त गरेर पहिलो पार्टी बनेको छ ।

यसैगरी गठबन्धन गरेर एउटा प्रतिनिधिसभा सदस्यसहित ४ वटा प्रदेशसभा सदस्य जितेको नेपाली कांग्रेस २४ दशमलव ७० प्रतिशत मत प्राप्त गरेर दोस्रो पार्टी बन्न सफल भएको छ । कांग्रेसले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा दीपक गिरी, ३(१)मा डिल्लीबहादुर चौधरी, २(१) राजु खनाल, २(२) प्रचण्डविक्रम न्यौपाने र १(२)मा अनुराग खड्काले निर्वाचन जितेका छन् ।

निर्वाचन आयोगका जिल्लामा पहिलो पार्टी बनेको नेकपा एमाले ७६ हजार ६ सय ४४ मत प्राप्त गरेको छ । आयोगका अनुसार दाङ निर्वाचन क्षेत्र नं. १ मा १७ हजार ९ सय ६९, क्षेत्र नं. २ मा २३ हजार ५ सय ६८ र क्षेत्र नं. ३ मा २६ हजार १ सय १७ मत प्राप्त गरेको छ । निर्वाचन क्षेत्र नं. १ र २ मा प्रमुख बनेको एमाले क्षेत्र नं. ३ मा भने दोस्रो छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ६१ हजार ४ सय ३५ मत पाएको छ । यो गणना भएको सदर मतको २४ दशमलव ७० प्रतिशत हो । जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेस ३ नं.मा पहिलो बनेको छ भने क्षेत्र नं. १ र २ मा दोस्रो स्थानमा झरेको छ ।

निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा कांग्रेस क्षेत्र नं. १ मा १५ हजार ६७, क्षेत्र नं. २ मा १९ हजार ७ सय ९१ र क्षेत्र नं. ३ मा २६ हजार ५ सय ७७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ हजार ८ सय ९५ मत अर्थात् १६ दशमलव शून्य ४ प्रतिशत मत पाएको छ । जसअन्तर्गत् क्षेत्र नं. १ मा ११ हजार ४ सय ५२, क्षेत्र नं. २ मा १३ हजार ३३ र क्षेत्र नं. ३ मा १५ हजार ४ सय १० मत प्राप्त गरेको हो ।

जिल्लामा चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३३ हजार १ सय ९८ मत अर्थात् १३ दशमलव ३५ प्रतिशत मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ मा ११ हजार ४ सय ५२, क्षेत्र नं. २ मा १० हजार ८ सय २० र क्षेत्र नं. ३ मा २० हजार ९ सय २६ मत प्राप्त गरेको छ ।

समानुपातिकमा रहेका ४५ वटा पार्टीमध्ये ७ हजार मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा रहेको छ । राप्रपाले ७ हजार ६ सय १ अर्थात् ३ दशमलव शून्य ५ प्रतिशत मत ल्याएको छ । जसअन्तर्गत् क्षेत्र नं. १ मा १ हजार ७ सय ९, क्षेत्र नं. २ मा ३ हजार ९ र क्षेत्र नं. ३ मा २ हजार ७ सय ८ मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने दाङमा समानुपातिक छैठौँ स्थानमा रहेको छ । एकीकृत समाजवादीले क्षेत्र नं. १ मा ३ हजार २ सय १८, क्षेत्र नं. २ मा ७ सय २ र क्षेत्र नं. ३ मा ६ सय ९१ गरी जम्मा ४ हजार ६ सय ९१ मत प्राप्त गरेको छ । समाजवादीले प्रत्यक्षमा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य जितेको छ । समाजवादीका नेता मेटमणि चौधरीले सो क्षेत्रबाट चुनाव जिजेका हुन् ।

त्यसैगरी २ हजार बढी मत प्राप्त गरेर राष्ट्रिय जनमोर्चा जिल्लामा सातौँ स्थान र नेकपा माले आठौँ स्थानमा रहेको छ । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा १ हजार ६ सय १४, क्षेत्र नं. २ मा ३ सय १२ र क्षेत्र नं. ३ मा ३ सय ८ गरी जिल्लाभर २ हजार ३ सय १४ मत प्राप्त गरेको छ । आठौँ स्थानमा रहेको नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ मा ४ सय ३०, क्षेत्र नं. २ मा १ सय २६ र क्षेत्र नं. ३ मा २ सय ८७ मत प्राप्त गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्