अक्सर स्कुले छाडाले पिछा गर्ने एउटी लाटी !
धोती, चोली र मुजेत्रो बाँधेकी
सामान्यभन्दा पृथक् लाग्थी
धङ्धङ्ग्याउने, लड्ने र उठ्ने
गाउँकी एउटी लाटी !
लाटीले मौनतामै कस्तुरीको बिना खोजिरही
हिजो तुफानमा उडेको घरको छानो थम्थम्याई
र एकपल्ट फेरि आकाशतर्फ हेरी
र मनमनै केही बोली
केही उत्तप्त प्यास बोकेर बाँचेकी लाटीले
एक दिन सपनामा उसले गुमाएका
सन्तानको अनुहार देखी ।
बुद्ध, अमर, भीमसेन, बलभद्र
दशरथ, धर्म, शुक्र र गंगाहरु
त्यो लहर हेर्दै ऊ वर्तमानसम्म पुगी
त्यहीँ पनि देखी केही नकाबधारी सन्तानहरु
उसले आफ्नै सन्तानका चेहरामा खोजी
आफ्नो अस्तित्व !
हेरी पुराना र नयाँ तस्विरहरु
शालिक र मूर्तिहरु ।
निद्रामा लाटीको आवाज फुट्यो
उसले पुकारी र चित्कार छोडी
मेरो अस्तित्व बचाऊ
मेरो लुम्बिनीमा शान्तिको अभिनय हुँदै छ
मेरो बुद्धको अपहरण हुँदै छ,
मेरो सगरमाथा लुटिँदै छ ।
लाटीले गुहार गर्दै आलापी साधु, सन्त र महर्षिहरुलाई
मेरो सभ्यता, संस्कृति लुटियो
नैतिकता र आचरण खोसियो
मेरा सन्तानहरुबाट देवत्व लुटियो,
यिनलाई नैतिकता र आचरण देऊ ।
देखी, उसको नजिकै फेरि
उनै स्कुले छाडाले उसको मुजेत्रो तान्दैछन्
उसको उपहास गर्दैछन् ।
भूमि … ! … भूमि … !! … लाटी …!!!
लालमटिया–९, दाङ