दोष प्रहरीको होइन सिस्टमको हो : उपेन्द्र यादव – Kanika Khabar
Friday, April 26Nepali News Portal

दोष प्रहरीको होइन सिस्टमको हो : उपेन्द्र यादव

    मा प्रकाशित

कनिका खबर डेस्क
बैशाख १५ दाङ ।
आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।ं

जनता समाजवादी पार्टीका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

शीर्ष नेताहरु जाहेरी दर्ता गर्न पुगे पनि महानगरीय परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका हुन् । खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटा ने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएको जिकिर जनता समाजवादी पार्टीको रहेको छ । पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

प्रहरीले मुद्दाको जाहेरी दर्ता गर्न नमानेपछि अब यो मुद्दा के हुन्छ त ? अर्को कुनै प्रक्रियाबाट अगाडि बढ्छ या यतिकैमा तुहिएर जान्छ त ? भन्ने आँकलन नेपाली राजनीतिक वृत्तमा बाक्लो रुपले चलेको छ । यसै सन्दर्भमा आज (सोमबार) कनिका खबरसँगको टेलिफोन संवादमा पार्टीका शीर्ष नेता उपेन्द्र यादवले भने, ‘‘अपहरण सम्बन्धी मुद्दाको जाहेरी कानुन अनुसार देशको नजिकको सुरक्षा निकायमा दिन सकिन्छ, यो फौजदारी मुद्दा हुन्छ, यत्रो चर्चा भइसकेपछि प्रहरी आफैले मुद्दा जाहेर गर्नु पर्ने हो । तर, प्रधानमन्त्रीको दबाबमा उहाँले मुद्दा दर्ता गर्न मान्नुभएन, तर, उहाँहरुको दोष होइन दोष सिस्टमको हो ।’’ नेता यादवले भने,‘‘ म अपहरणमा परेँ, मलाई बन्धक बनाइयो, उम्केर मुद्दा हाल्न जाँदा मुद्दा दर्ता भएन भने कानुनी राज्य त असफल भइसक्यो नि, विधिको शासन त रहेन अब त एक खालले गुन्डाराज भइसक्यो, जसले जहाँ जे गरे पनि भयो न न्यायलयले लिन्छ, न प्रशासनले हेर्छ न त प्रहरीले मुद्दा लिन्छ, लोकतन्त्र समाप्त हुन्छ, अहिलेको सरकार यही दिशातर्फ उन्मुख भएको देखिन्छ ।’’

प्रहरीले मुद्दा नै दर्ता गर्न नमानेको भन्दा पनि जहाँको घटना हो त्यही दर्ता गर्नुहोस् भन्ने अनुरोध छ नि त तपाईंहरुलाई भन्ने सवालको खण्डन गर्दै नेता यादवले प्रति प्रश्न गरे, ‘‘कानुनमा के लेखिएको छ ? घटना त यहीँ कै हो नि, काठमाडौँबाट मान्छे जान्छ महोत्तरी, अपहरण गरेर काठमाडौँ ल्याउँछ, काठमाडौँमा राख्छ र मान्छे उम्केर थानामा जान्छ अब कहाँको मुद्दा हुन्छ ? ’’

अपहरण, ज्यान मुद्दाजस्तो केस प्रहरीले दर्ता गर्दैन भन्न मिल्दैन भन्दै नेता यादवले थपे, ‘‘यस्ता केसमा अरु मुद्दा त लिइरहेको छ नि, त्यो कानुनमा छ भन्दा प्रहरीले हामीलाई भन्यो —कानुनमा छ, हामीलाई थाहा छ तर कानुनमा जे भए पनि हामीले लिदैनौँ ।’’ राज्यको यस्तो शैलीप्रति कटाक्ष गर्दै यादवले भने, ‘‘यतिबेला देश अन्यायमा छ, लोकतन्त्र धरापमा छ । ’’
अब तपाईंंहरुको मुद्दा प्रक्रिया के हुन्छ त भन्ने सवालमा नेता यादवले भने, ‘‘ अब हाम्रो प्रक्रिया अगाडि बढिरहन्छ, प्रहरीले लिन नमानेको खण्डमा सरकारी वकिल र सरकारी वकिलले लिन नमानेको खण्डमा सर्वोच्च अदालत पुग्छौँ हामी त्यो पनि भएन भने त अपहरण मुद्दा भनेको अन्तराष्ट्रियकरण हुने मुद्दा हो, त्यसै अनुसार हामी अगाडि बढ्छौँ । ’’ यतिबेला देशमा कानुनी राज्य नरहेको र प्रधानमन्त्रीको स्वेच्छाचारिताका आधारमा देश चलिरहेको छ, पार्टीभित्रबाटै राजीनामा मागिनु र अन्य राजनीतिक दल एवम जनताका सामु आलोचना हुनुले प्रधानमन्त्रीको शैली अतिस्वेच्छाचारी र भ्रष्ट शैलीमा अगाडि बढिरहेको स्पष्ट भएको जिकिर गर्दै नेता यादवले भने, ‘‘प्रधानमन्त्रीजस्तो मान्छेलाई अपहरणको निर्देशन गर्न नैतिकताले दिन्छ र ? संसदजस्तो मान्छेलाई अपहरण गरियो, मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा जाने प्रशस्त ठाउँ थियो, कानुनले अपहरण ठहर गर्ने नगर्ने अर्को कुरा हुन्थ्यो । ’’

अब अन्य राजनीतिक दल, कानुनविद्सँग परामर्श गरेर यो केसमा अगाडि बढ्ने पनि नेता यादवले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्