सिटिइभिटीको शुल्क वृद्धिप्रति अखिल क्रान्तिकारीको ध्यानाकर्षण – Kanika Khabar
Friday, May 10Nepali News Portal

सिटिइभिटीको शुल्क वृद्धिप्रति अखिल क्रान्तिकारीको ध्यानाकर्षण

    मा प्रकाशित

काठमाडौँ, १ साउन ।

सिटिइभिटीले शैक्षिक सत्र २०८० का लागि शुल्क समायोजन गर्दै वृद्धि गरेको शुल्कप्रति अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ । गत असार २९ गत शुक्रबार सिटिइभिटीले एक सूचना जारी गरी एचए, नर्सिङ र फार्मेसीमा शुल्क वृद्धि गरेको जानकारी गराएको हो । सिटिइभिटीले गरेको शुल्क वृद्धिको बिरोध गर्दै अखिल क्रान्तिकारीले सिटिइभिटीलाई शुल्क घटाउन समेत अनुरोध गरेको छ ।

आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले सात बुँदे माग राख्दै तत्काल पूरा गर्न अपील समेत गरेको छ ।
सिटिइभिटीद्वारा जारी गरिएको शुल्क समायोजन सम्बन्धी सूचना जारी भए पश्चात विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । सिटिइभिटीले विद्यार्थी र अभिभावकमाथि चर्को शुल्कको भार थोपर्ने निर्णय गरेको अखिल क्रान्तिकारी पवन कार्की समुहका प्रवक्ता उपदेश यादवले आरोप लगाएका छन् ।

अखिल क्रान्तिकारीका सिटिइभिटी तथा विश्वविद्यालय इन्चार्ज सागर केसी र राष्ट्रिय समितिका संयोजक जगत भण्डारीले ध्यानाकषर्ण जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरमा निर्देशक नवराज कोइराला मार्फत सदस्य सचिव समक्ष माग सात ब्ँदे माग राखेका हुन् ।

यस्ता छन् सात बुँदे माग
१. सिटिइभिटीमा शैक्षिक माफियाहरु सँगको साठगाठ र मिलेमतोमा नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सामा २९ प्रतिशत र फार्मेसीमा २५ प्रतिशतका दरले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै शुल्कमा पठन पाठन गराउनुपर्ने ।
२. सिटिइभिटीद्वारा प्रदान गरिने छात्रवृत्ति २० प्रतिशत कायम गर्नुपर्ने ।
३. विभिन्न समयमा गरिएका शैक्षिक संस्थाहरुको अनुगमन रिपोर्ट सार्वजनिक गरी मापदण्ड विपरित भएका शैक्षिक संस्थाहरु खारेज गर्नुपर्ने ।
४. परीक्षा सकिएको ४५ दिन नतिजा सार्वजानिक गर्नुपर्ने पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने ।
५. गोल्डेन चान्स परीक्षा सञ्चालन गर्नुपर्ने ।
६.सिटिइभिटीभित्र भएका विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ।
७. अखिल (क्रान्तिकारी) र सिटिइभिटीबिच भएका पूर्व सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्ने ।

अखिल क्रान्तिकारीद्वारा पेश गरिएको विद्यार्थीहरुका जायज मागहरु तत्काल पूरा नगरे सशक्त आन्दोलनका कार्यक्रम सहित अखिल क्रान्तिकारी अगाडि बढ्ने प्रवक्ता उपदेश यादवले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्