मा प्रकाशित
आज नेपाली राजनीति तथा साहित्यका शिखर पुरुष तथा महामानव बि.पी. कोइरालाको जन्म भएको दिन । बि.पी.चार वर्षको हुँदा राणा शासनले कृष्णप्रसादको सर्वस्वहरणसहित गिरफ्तारीको आदेश दिएको परिणाममा उनले आफ्नो परिवारसहित भारत जान बाध्य भएका थिए । बाल्यावस्थादेखि युवावस्थासम्मको करिब ३२ वर्षको उमेर भारतका विभिन्न सहरमा बिताएका थिए । उनले आफ्नो व्यक्तित्वको विकास त्यही नै गरे । मूलतः वाराणसीमा नै उनले आफ्नो राजनीति तथा साहित्य यात्राको प्रारम्भ गरे ।
विभिन्न अवसरमा नेपाली काँग्रेसले बि.पी.लाई सम्झने गर्दछ । कार्यक्रम अबधिभर नेता र कार्यकर्ता बि.पी.को योगदानको चर्चा गरेर थाक्दैनन् । बि.पी.को महिमागान गाइरहन्छन् । बि.पी.का आदर्शलाई रटिरहन्छन् । तर, औपचारिक कोठे कार्यक्रमपश्चात ती सबै योगदान र महिमालाई व्यवहारोन्मुख बनाउन नसक्नु काँग्रेसका लागि अभिशाप बन्दै आएको छ । यी सबै यथार्थतालाई बुझ्दाबुझ्दै पनि काँग्रेसले बि.पी.का सिद्धान्तलाई कार्यान्वयन गर्न सकेको छैन । बि.पी. सिद्धान्तलाई क्रियान्वयन गर्न नसक्नुको कारण राजनीतिक सङ्क्रमण, अस्थिरता भनेर टार्नुमा काँग्रेसको कमजोरी छिप्दैन । यस्तो प्रवृत्तिले काँग्रेसलाई झनै कमजोर बनाउनेछ । काँग्रेस धमिरा लागेका काठ मात्र बन्नेछ ।
यहाँ बि.पी. र काँग्रेस प्रवृत्तिलाई जोड्नुभन्दा पहिले विभिन्न बि.पी.लाई विभिन्न व्यक्तिले कसरी चिनेका छन् । साथै बि.पी.को मूल्याङ्कन कसरी गर्दछन् भन्ने सन्दर्भलाई यहाँ जोड्न आवश्यक देखिएको छ ।
बिपी बहुआयामिक भएको व्यक्ति । यहाँको राजनीतिलाई पनि बोध गरेको, एसियामा के विकास भइरहेको छ, कसरी राजनीति गइरहेको छ भन्ने पनि बोध भएको, अन्तराष्ट्रिय परिवेश बुझेको आदि व्यक्तित्व हो र आफ्नो जीवनको एक भाग युवक कालमा पक्का समाजवादी भएर हिन्दुस्थानका प्रखर नेताहरुसगं बसेर काम गरेको व्यक्ति पनि हो । दूरदृष्टि राख्ने मान्छे हो उहाँ । बि.पी.को आकांक्षा पनि नेपालमा सामाजिक, आर्थिक, राजनीतिक कुराहरुमा आमुल परिवर्तन थियो । (पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापा ।)
बि.पी. कोईराला पार्टीभित्र सबैलाई समान व्यबहार गर्ने व्यक्ति समेत हुनुहुथ्यो । बि.पी. कसैलाई कँही ढाँट्नु हुन्नथ्यो । बि.पी. पार्टीमा सबैलाई न्याय गर्ने नेता हो । सबैलाई मिलाएर लान सक्ने क्षमता भएको नेता हो । (पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा)
म बद्री केदार गएँ । त्यहाँ जाँदा बाटोमा एउटा कविरले लेखेको सिलालेख देखेँ । त्यसमा लेखिएको थियो, तिमी जन्मँदा रोएका थियौ तर संसार हाँसेको थियो । तिमी जाँदा हाँसेर गयौ तर संसार रोइरहेको छ । मलाई यो लाग्यो कि यो सिलालेख बि.पी.कै लागि लेखिएको हो । त्यसपछि म फर्किएर काठमाडौं आएँ । काठमाडौ आएपछि मलाई थाहा भयो कि ‘बि.पी.को अबसानमा अपसोच’ सहित छापिएको मेरो लेखका कारण ‘समीक्षा’ पत्रिका एकै दिनमा चार पटक सम्म छाप्नु परेछ । ( लेखक, स्व.मदनमणी दिक्षित)
९ वर्ष अमेरिका बस्दाखेरि सधै टेलिभिजन हेरिन्थ्यो । दुनियाँका कुनै पनि नेताका कुरा सुन्दा हाम्रो बि.पी. उनीहरु भन्दा कुनै पनि कुरामा हाँेचो हुनुहुन्थ्यो भन्ने कहिल्यै लागेन । उहाँले भनेका कुराहरु र ती ठुलठुला नेताहरुले भनेको कुरा टेलिभिजनमा, समाचारमा हेर्दा सधै मनमा झन् बढी आत्मविश्वास जागेर आउथ्यो । ‘हाम्रो नेपालमा पनि यत्रो ठुलो नेता हुनुहुन्थ्यो, जसले दुनियाँलाई बुझेको थियो, नेपाललाई पनि एउटा बाटो दिन खोजेको थियो भन्ने’ भावना जाग्दथ्यो मनमा । ( नेता नेकाँ, डा. मिनेन्द्र रिजाल)
उहाँ कतै घुम्न जानुभयो भने पनि राजनीतिको मात्रै नभएर विकासको पनि परिकल्पना गर्दै हिँड्नुहुन्थ्यो । हरेक क्षणक्षणलाई अवसरको रुपमा लिने गुण बि.पी. कोइरालासँग थियो । तर विडम्बना, उहाँसँग सपना थियो, समय थिएन, हामीसँग समय छ, सपना छैन । अहिले नेतृत्वसँग राष्ट्रियताको सन्दर्भमा पूर्ण प्रतिवद्धता नै छैन, जुन बि.पी. कोइरालासँग थियो । पछिल्लो समय काँग्रेसले समाजवादलाई छोडेर निजीकरणतिर लागेको भन्ने आरोप काँग्रेसलाई लाग्ने गरेको छ । वास्तवमा निम्नवर्गका व्यक्तिहरुलाई सम्बोधन गर्न अहिलेको काँग्रेस चुकेको छ । हुन त काँग्रेसले गरिरहेको पनि छ । गरिवसँग विश्वेश्वर भन्ने कार्यक्रम पनि समाजवादी कार्यक्रमकै उदाहरण हो । तर बि.पी. भइदिएको भए समाजवादी चिन्तनबाट निजीकरणतिर ढल्किएको काँग्रेसलाई समाजवादी बाटोमा हिँडाउन सक्नुहुन्थ्यो । निजी विद्यालय, कलेजहरुमा सिमान्तकृत वर्गलाई आरक्षणको व्यवस्था गर्र्न सकेको भए सायद काँग्रेसको समाजवाद, काँग्रेससँगै मजवुद हुने थियो । (डा. शशाङ्क कोइराला)
महामानव बि.पी. कोइरालाले भनेका छन्, ‘‘प्रत्येक नेपालीको एउटा आफ्नै घर होस्, शिक्षा र स्वास्थ्यमा पहुँच होस्, घरमा एउटा लैनो गाई होस् र इज्जत र योग्यता अनुसारको रोजगारी होस् । यही सबै नेपालीलाई पु¥याउनका लागि नेपाली कांग्रेस सक्षम होस् ।’’ नेपाली राजनीतिक धरातलबाट अन्तराष्ट्र्रिय ख्याति कमाएका बि.पी. कोइरालाको भावनाको कदर यतिबेला नेपाली राजनीतिमा भएको पाइदैन । त्यसो त उनकै पार्टी नेपाली कांग्रेसले पनि उनको विचारको सम्मान गर्न नसकेको कुरा जति छिपाउन खोजे पनि छिपाउन सकिदैन । सायद बि.पी.ले भनेझैं या बि.पी.को परिकल्पनाको नेपाल र नेपाली समाज निर्माण हुन सकेको भए यतिवेला नेपाल र नेपालीको महत्व र अस्तित्व विश्व मानचित्रमा पृथक हुने कुरालाई नकार्न सकिदैन । बि.पी.को कल्पनाको नेपालमा र समाजमा विपन्नताको अंश निकै कम रहन्थ्यो या भनौँ विपन्नताको महसुस गर्नुपर्ने अवस्था नै सिर्जना हुने थिएन । तर, बि.पी.को अवसान पश्चात उनका विचारहरुलाई जवरजस्ती मारिदै जान थालियो, उनको स्मरणलाई आवश्यकताभन्दा पनि बाध्यताको रुपमा लिन थालियो । परिणामतः बि.पी.ले रेखाङ्कन गरेको राजनीतिक मार्ग पनि विस्तारै पुरिदै जान थालेको महसुस यतिवेला सर्वत्र गरिन थालिएको छ । जुन महसुसलाई सुदृढ गराउने कार्य स्वयं बि.पी.कै पार्टी कांग्रेसको कार्याकलापले पहिलो प्राथमिकता राख्दछ भने अन्य राजनीतिक दलभित्रको सङ्कीर्ण सोचाइको कारणले दोस्रो प्राथमिकता राख्दछ । अप्ठ्यारोबाट सप्ठ्यारोको मार्ग पहिल्याउन या अबलम्वन गर्न बि.पी.को सिद्धान्तको चर्चा सर्वत्र चल्छ तर ती सिद्धान्तलाई राजनीतिमा सूत्रको रुपमा प्रयोग गर्ने परम्परा भने शून्यप्रायः रहेको छ । जसले बि.पी. मार्गलाई पूर्णतः अवरुद्ध बनाउदै लैजान थालेको छ ।
बि.पी.ले ‘आफ्नो कथा’ मा लेखेका छन्, ‘‘ नेतृत्वको सबभन्दा ठूलो गुण त्यसको त्यस परखमा रहन्छ कि आन्दोलन कुन–कुन क्षणदेखि पतोन्मुख हुन थाल्दछ, त्यो क्षण पुग्नुभन्दा पूर्व नै नेताले जनतालाई नैराश्यबाट बचाउँछ, स्थगन गर्ने आदेश दिने साहस लिनुपर्दछ । त्यसो गर्दा हुन सक्छ नेताले कटु आलोचनाको शिकार हुन परोस्, यस लाञ्छनाको कि यदि नेताको स्थगनको आदेश नआएको भए आन्दोलनले आफ्नो लक्ष्य प्राप्त गरिछाड्ने थियो इत्यादि । यसबाट आन्दोलन हारेको ठहरिदैन, आन्दोलनमा सरिक भएका जनताको उत्साह कुण्ठित हुँदैन र भविष्यको आन्दोलनका लागि तत्पर रहिरहन्छन् ।’’ बि.पी.को यस कथनले उनीभित्रको राजनीतिक दूरदर्शिताको तेज, समय अनुसारको यात्रा, सम्झौतावादी चिन्तनलाई प्रष्ट पारेको छ । यतिवेला नेपाली राजनीतिमा बि.पी.ले भनेझैं नेतृत्वको आवश्यकता परेको छ । जबसम्म मुलुकले यस्तो नेतृत्व प्राप्त गर्ने छैन तबसम्म राजनीतिक अस्थिरता कायम भइरहनेछ, राजनीतिक सङ्क्रमण लम्बिदै जानेछ, जनता र नेताबीचको दूरी बढ्दै जानेछ, जनविश्वासको अभाव राजनीतिमा खट्किरहनेछ, मुलुक अभिभावकविहीन भइरनेछ । जसले माथि उद्धधृत गरिएका अंशलाई नेतृत्वको मूलमन्त्र बनाउन सक्षम हुनेछ त्यो नै सङ्कट मोचनको एक अब्बल नेतृत्वको रुपमा रहनेछ, त्यो मुलुकको अभिभावक बन्नेछ ।
बि.पी.ले प्रशस्त गरेको राजनीतिक बाटोमा कांग्रेसले यहाँसम्म आफ्नो यात्रालाई ल्याई पु¥याएको छ भन्दा कांग्रेसको चित्त दुख्ला तर त्यसमा चित्त दुखाउनुको कुनै तुक नै छैन । कांग्रेसले कहिलेसम्म बि.पी. मार्गमा आदर्श रगटिरहने हो ? बि.पी. ले रेखाङ्कन गरेको मार्गलाई विस्तार गर्न कांग्रेस सफल भएको छैन भन्दा अतियुक्ति नहोला । बि.पी. का सिद्धान्त, विचार, दृष्टिकोण राजनीति र नेतृत्वका लागि पर्याप्त छन् तर तिनलाई व्यवहारोपयोगी र बिस्तार गराउँदै लैजाने जिम्मेवारीले पनि काँग्रेसमा त्यतिकै महत्व राख्दछ । बि.पी. र उनका समकक्षीहरुले बीजारोपण गरेको राजनीतिक वृक्षमा अहिले राजनीतिक दलहरुको लुछाचुडी चलिरहेको छ । लुछाचुडीको होड यति अस्वस्थ रुपमा चलेको छ कि लुछाचुडीले वृक्ष नैै समाप्त भइहाल्ला तर सहकार्य र एकताको केन्द्रविन्दु नै निर्माण हुने सम्भावना देखिदैन । वृक्षको फल खानेले त्यसको संरक्षण र संवद्र्धन गर्न सक्नु पर्दछ । संरक्षण त कसैको कार्यतालिका नै देखिएको छैन । वृक्षको प्रयोगमा पनि खुट्टा तानातानको अवस्था सिर्जना भएको छ । यसरी विकसित हुँदै गएको दलीय प्रवृत्तिले एकातिर राजनीतिक अन्यौलता थप्दै लगेको छ भने अर्कोतिर महान इतिहास बोकेका व्यक्तिप्रति अपमान पनि गरिरहेको छ । यहाँ बि.पी.हरुका सिद्धान्त भजाई खाने भाँडोभन्दा बढी बन्न सकेको छैन । कांग्रेसले बि.पी.को समाजवादलाई जति रटान लगाए पनि त्यसलाई व्यवहारमा प्रयोग गर्न सकेको छैन । उसको समाजवाद सिद्धान्तमै सिमित रहेको छ । जनताले त्यसलाई कहिल्यै व्यवहारमा लागू गरेको महसुस गर्न पाएका छैनन् । आदर्श व्यक्ति बि.पी.को मार्गलाई प्रशस्तै बनाउँदै अगाडि बढ्नुको फाइदा कांग्रेसले मात्र प्राप्त गर्ने छैन, त्यसको फाइदा अन्य राजनीतिक दल र सिङ्गो मुलुकले पनि प्राप्त गर्नेछ । तर, कांग्रेसमा बढ्दै गएको महत्वाकांक्षी भावना र लामो समयसम्म प्राप्त सत्ताको बागडोरको अहम्ले ऊभित्र बि.पी.वादको अवशेष मात्र पाइन्छ । त्यसलाई उसले वार्षिक रुपमा नवीकरण गर्ने कामभन्दा बढी केही गर्न सकेको छैन । उसको यस्तो क्रियाकलापले बि.पी.प्रतिको श्रद्धालाई ‘श्राद्ध’मा रुपान्तरित गर्दै लैजान थालेको महसुस हुन्छ । यसप्रति कांग्रेसले अब ध्यान दिन जरुरी छ । बि.पी.को सिद्धान्त अनुसार नेतृत्वमा हुनुपर्ने गुणलाई कांग्रेसले कति हदसम्म प्रयोग ग¥यो ? बि.पी.को समाजवादको नीतिलाई कांग्रेसले कसरी प्रयोग गरिरहेको छ भनेर कांग्रेसमा आत्मसमीक्षा हुनुपर्ने जरुरी छ । जबसम्म कांग्रेसले आफूलाई समीक्षाको विन्दुमा उभ्याउने साहस गर्दैन तबसम्म कांग्रेसका लागि नेतृत्व त्यति सफल मानिनेछैन । बि.पी.का सैद्धान्तिक गुण आफूभित्र राख्न सकेकै कारण गिरिजाप्रसाद कोइरालाले आफ्नो छविलाई अन्तराष्र्टि«य रुपमा चिनाउन सफल भएका हुन् । साथै आफूलाई एक सफल नेतृत्वका रुपमा उभ्याउन सफल भएका हुन् । जसका कारण उनको जीवन अवधिभर नेपाली राजनीति त्यति गन्तव्यविहीन हुन परेन, मुलुक अभिभावकविहीन हुन परेन ।
तर, कांग्रेस पछिल्लो चरणमा बि.पी. मार्गमा आफूलाई अडिग बनाउन सकेको छैन । बि.पी.ले कांग्रेसको मार्ग प्रष्ट पार्दै निर्माण गरेका कांग्रेसका सिद्धान्तलाई जनताका सामु लगेर जान आवश्यक छ, जसले मुलुकमा कांग्रेसको महत्व र आवश्यकतालाई मात्रै प्रष्ट्याउने छैन ती सिद्धान्तलाई जनमुखी सिद्धान्तको रुपमा पनि स्थापित गर्दै लैजानेछ । ‘विदेशीवाद’लाई स्वदेशीकरण गर्दै ‘विदेशीवाद’को भरमा सत्तामा आफ्नो प्रभुत्व कमाइरहनेहरुले यतिवेला आफ्नो अधिनायकवाद लाद्दै जान थालेका छन् । यस्तो अवस्थामा ‘स्वदेशीवाद’लाई राजनीतिकरण गर्न नसक्नुले कांग्रेसको कमजोरीलाई प्रष्ट पार्दछ । बेलाबेला कांग्रेसमा सत्ताको छटपटी, त्रास र हचुवा निर्णयको काला रेखाहरु देखिने गर्दछन् । तर, कांग्रेसले के बुझ्न जरुरी छ भने जसले आफूलाई एउटा युग र निर्धारित समयको सिमाङ्कनभित्र देख्दछ, त्यो नै आतिन्छ, डराउँछ, पलायन हुन्छ, आफ्ना विश्वासहरु त्याग्दछ, हचुवा निर्णय गर्दछ । यस्ता कुरालाई गहन चिन्तनको रुपमा लिएर अगाडि बढ्नु नै कांग्रेसका लागि उपयुक्त हुनेछ । जहाँ बि.पी.को राजनीतिक सिद्धान्त र निर्देशनलाई उसले शिरोधार्य गरेको पनि ठहर्नेछ । जसले कांग्रेसलाई सही मार्गमा हिँडाउनेछ ।
सत्तालाई सर्वोपरी ठान्ने राजनीति टिकाउ हुँदैन । त्यस्तो राजनीति क्षणिक हो र सत्तालिप्सा पतनको मार्ग पनि हो । यद्यपि सत्ता प्राप्त गरी आफ्नो आस्था र दृष्टिकोण बमोजिम नीति लागू गरेर मुलुकलाई अगाडि बढाउने लक्ष्य नै राजनीति हो । हरेक राजनीतिक दलका नेताहरु त्यही चाहन्छन् । राजनीतिको यस्तो परिभाषाले बि.पी.लाई छुन सकेन । अझ भनौँ राजनीतिको यो परिभाषाभित्र बि.पी.ले आफूलाई राख्न सकेनन् । उनले सत्ता पाएर पनि गुमाउनु प¥यो । आजीवन त्यही सत्ताका लागि उनले सङ्घर्ष गरिरहे । तर, त्यो प्राप्त हुन सकेन । तैपनि मानवीय जीवनको खोज गर्ने र निष्काम कर्मका साथ आफ्नो अस्तित्वका लागि उनी लडिरहे । यो पाठ कांग्रेसले सिक्न जरुरी छ, बि.पी.को निष्काम कर्म अनुसार उसले आफूलाई राजनीति वृत्तमा पृथक रुपमा उभ्याउन सक्नु पर्दछ । ताकि कांग्रेसका लागि सत्ता होइन सत्ताका लागि कांग्रेस चाहियोस् । कांग्रेसले आफ्नो पहिचानलाई यो शीरामा उभ्याउन सक्यो भने महामानव बि.पी. प्रति उसले न्याय गरेको ठहर्नेछ ।