कनिका खबर
असार २९, दाङ ।
लगातारको वर्षाले देशका विभिन्न स्थानमा बढेको प्रकोपमा परेकाको उद्दार कार्यमा जुट्न सरकारलाई मानव अधिकार आयोगले अपील गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भइरहँदा आयोगले पीडितको उद्दारमा जुट्न सरकारलाई निर्देशन दिएको हो । आयोगले प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पीडितको तत्काल उद्दार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन र प्रभावकारी राहत वितरण गर्न संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारलाई निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा बाढी, पहिरोबाट भएको जनधनको क्षतिप्रति आयोगले दुःख प्रकट गरेको छ । आयोगका सदस्य सुदीप पाठकले गृहसचिव महेश्वर न्यौपानेसँग भेटेर बाढी, पहिरो पीडितको उद्धार, राहत र जोखिम रोकथामका लागि सरकारले गरिरहेको पहलबारे छलफल गर्नुभएको छ । छलफलमा गृहसचिव न्यौपानेले विपद् व्यवस्थापन तथा महामारीमा सरकारले संवेदनशील भई कार्य गरिरहेको बताएका छन् । आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, उद्धार, राहत वितरण, स्वास्थ्योपचार बसोबास लगायतका विषयमा सूचना संकलन भइरहेको पनि आयोगले जनाएको छ ।
मा प्रकाशित