विद्यालयलाई नतिजा प्रकाशन गर्न निर्देशन, नगरस्तरीय परीक्षाको नतिजा यथाशीघ्र ः गौतम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विद्यालयलाई नतिजा प्रकाशन गर्न निर्देशन, नगरस्तरीय परीक्षाको नतिजा यथाशीघ्र ः गौतम

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १७, दाङ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ ले विद्यालयलाई वार्षिक नतिजा प्रकाशन गर्न तथा पाठ्यपुस्तक वितरण गर्न निर्देशन जारी गरेको छ । प्रदेश नं. ५ का १ सय ९ स्थानीय तह तथा विद्यालयहरुलाई सम्बोधन गरी जारी गरिएको पत्रमा विद्यालय तहमा कक्षा १ देखि ९ सम्मका नतिजाहरु क्रमशः प्रकाशन गर्न व्यवस्था मिलाउन स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । साथै नतिजा प्रकाशनपश्चात लकडाउन तथा सामाजिक दूरी कायम गरी उपयुक्त वैकल्पिक माध्यमबाट भर्ना अभियानको व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । नतिजा प्रकाशनपछि विद्यार्थीलाई यथाशीघ्र पाठ्यपुस्तक उपलब्ध गराउन तथा पाठ्यपुस्तक बिक्री वितरणका लागि अन्य खाद्य तथा औषधिजन्य सामग्रीसरह सामाजिक दूरी कायम गरी सुरक्षा सतर्कता अपनाएर ढुवानीका लागि सवारी साधन पास उपलब्ध गराउन सम्बीन्धत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरेको छ ।

यता स्थानीय पालिकाहरुले पनि प्रदेशका सामाजिक मन्त्रालयको परिपत्रलाई आधार बनाएर नतिजाको तयारी गरिरहेका छन् । घोराही उप महानगर शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव विनोद गौतमले कनिकासँगको संवादमा भने, ‘‘देशव्यापी लगडाउन र प्रदेश नं. ५ को सामाजिक मन्त्रालयले गरेको परिपत्रका आधारमा विद्यालयस्तरीय कार्यक्रम विस्तारै अगाडि बढाउने र अब यथाशीघ्र वार्षिक नतिजा प्रकाशन गर्दै लैजान योजना तय गरेका छौँ ।’’ साथै महाशाखा प्रमुख गौतमले कतिपय विद्यालयहरुले आन्तरिक तयारीसमेत गरिसकेकाले अब सामाजिक दूरीको कायम तथा लगडाउनको पालना गरेर नतिजा प्रकाशन गर्न सक्ने बताए । नगरस्तरीय परीक्षा भएका कक्षा ५ र ८ का सन्दर्भमा महाशाखा प्रमुख गौतमले भने, ‘‘अहिले डेट लाइन नै तोकिहाल्ने अवस्था छैन, नतिजा तयारीको काम भइरेहको छ, कक्षा ५ लेजरको काम भइरहेको छ भने कक्षा ८ को टेबुलेसनको काम भइरहेको छ , जतिसक्दो चाँडो यी नगरस्तरीय परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी गर्दै छौँ ।’’ यसैगरी दाङ जिल्लाका अन्य स्थानीय पालिकाले पनि पालिका स्तरीय नतिजा यथाशीघ्र प्रकाशन गर्ने तयारी गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्