नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रबाट विभिन्न गुटउपगुटले घेराबन्दी गर्न थालेपछि कुटील राजनीतिक खेलाडी ओलीले पदीय पल्ला सहजै आफ्नो पक्षमा पार्दै जान थालेका छन् । यतिबेला राजनीतिक वृत्तमा विभिन्न थरिका विश्लेषण चलिरहेका छन् । पछिल्लो चरणमा ओलीको कार्यगत शैलीमा पार्टीभित्रबाट नै विरोध चलेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई निकै सजिलो भएको छ । संसद र संसद बाहिर नै सरकारको कार्य शैलीप्रति सत्तारुढ दलबाट आलोचना हुन थालेपछि काँग्रेसलाई आफ्नो भारी अरुले बोकिदिएको जस्तो मात्र भएन कि सरकारको कमजोरी जनतासम्म विश्वसनीय ढङ्गबाट सम्प्रेषण पनि भयो ।
प्रमुख प्रतिपक्षी तथा अन्य सत्ताबाहिरका दलले आलोचना गरेको भए त्यसलाई विभिन्न राजनीतिक रङको आरोप प्रत्यारोप लगाएर पानीमाथिकोृ ओभानो बन्न सरकारलाई सजिलो हुन्थ्यो तर सरकार आफ्नै पार्टीका नेताबाट आलोचित भएपछि दोषारोपण गर्ने ठाउँ नै पाएन । बिस्तारै प्रधानमन्त्री पार्टीभित्रबाट घेराबन्दीमा पर्न थालेपछि आफू बलियो हुने राजनीतिक उपायको खोजीमा लागे । विवादित अध्यादेश लिएर आफ्नो बलियो आधार बनाउन खोजेका प्रधानमन्त्रीलाई ७२ घण्टामा नै ब्याक गरायो अध्यादेशले । त्यति मात्र नभएर आफ्नो पोल्टा बलियो बनाउनका लागि मधेशको एक दललाई फुटाउनका लागि संसद अपहरण गरेको सम्मकाृे आरोप लाग्यो । तर, ओलीलाई त्यहाँनिर पनि काउन्टर दिदै मध्यरातमा समाजवादी र राष्ट्रिय जनता पार्टी मर्ज भए । यसले प्रधानमन्त्री ओलीलाई पहिलो गासमै ढुङ्गा लागेजस्तो भयो ।
ओलीका एकपछिको अर्को योजना विफल हुँदै जान थालेपछि आलोचित मात्र भएनन् पार्टीभित्र कमजोर बन्दै जान थाले । आलोचना बाहिर छताछुल्ल भएपछि पार्टीभित्रबाटै नैतिकताको आधारमा राजीनामा माग गरिन थाल्यो । त्यसपछि ओलीले आफ्ना लागि सुदृढ अस्त्ररुपी योजना बुन्न थाले । पार्टीमा ओलीलाई मुख्यगरी बामदेव गौतम, माधव नेपाल र प्रचण्ड गुटको जगजगी रह्यो । आफ्नो विद्रोहमा आउनेलाई विद्रोहको प्रतिकारभन्दा पनि पदीय लोलुपताको जालमा बुन्न ओली अगाडि बढे । प्रचण्डलाई कमजोर बनाउन लेखराज भट्टलाई आफ्नो पक्षमा ल्याए भने प्रचण्ड पक्षका थुप्रै नेतालाई आफ्नो पक्षमा उभ्याए । आफ्नो नेतृत्वमा मन्त्रीमण्डलसम्म तय गरिसकेका माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्षका रुपमा प्रस्ताव राखिदिएर आफूमाथिको बिरोधलाई मथ्थर पार्ने प्रयासमा लागे । त्यसो त पं्रधानमन्त्री ओलीको राजीनामा माग गरेका बामदेव ‘प्रेस नोट’ का माध्यमबाट आफ्नो अभिव्यक्ति सच्चाउनसम्म पुगे । त्यतिबेला नै बामदेव कुनै ललिपपको त्यान्द्रोमा झुण्डिसकेका थिए । यसको पर्दाफास बुधबारको सचिवालय बैठकबाट भयो । सचिवालय बैठकमा माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र बामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि ‘ओली अस्त्र’ को रहस्यको गाँठो खुलेको हो ।
यतिबेलाको चर्चा भनेको बामदेव गौतमको प्रधानमन्त्री बन्ने प्रस्तावको हो । ओलीको प्रस्तावको विरोध कसैले गर्नै नपर्ने भयो । यो प्रस्ताव ‘स्वयम् विरोध सिद्ध’ रहेको छ । यसको विरोध कसैले गर्नै पर्दैन, आफैमा विरोध बोकेर आएको छ । गर्भमै बिरोध बोकेको प्रस्तावलाई अगाडि बढाउँदा समेत पदीय लोलुपतामा मत्त भएका बामदेवले गर्भे बिरोधको गन्ध नै पाएनन्, यसमा बामदेव राजनीति रणनीतिमा चिप्लिने मात्र छैनन् ‘कमजोर राजनीतिक डाइगोनिस्ट’ का रुपमा समेत आलोचित हुनेछन् । संवैधानिक रुपमा असम्भव भएको प्रस्तावलाई ‘बिरोध बार्केनिङको’ सौगात सम्झेर बसे । प्रधानमन्त्री ओलीले भनेजस्तै लकडाउनलगत्तै बामदेव प्रधानमन्त्री बन्न कानुनी मार्ग प्रशस्त छैन । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा पराजय भोगेका बामदेवको समानुपाति बन्द सूचिमा नाम नरहेकाले प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको सोपान उक्लने आधार गुमिसकेको छ । राष्ट्रियसभाको बाटो भएर प्रधानमन्त्रीको पदधारण गर्न संविधान नै संशोधन गरेर जानु पर्ने कानुनी प्रावधान रहेको छ । यतिबेला रमाइलो बहस, विश्लेषण र चर्चा हो बामदेब कुन बाटो भएर प्रधानमन्त्री बन्ने हुन् ?
हिजो पार्टीभित्र देखिएका विरोध पार्टी सुदृढीकरणका लागि नभएर भागवण्डाको लागि रहेछ भन्ने आज छर्लङ्ग भएको छ । विकल्पहीन प्रस्तावमा बामदेव चिप्लिएका छन् । सम्भवतः ओलीको प्रस्ताव वमोजिम बामदेव प्रधानमन्त्री बन्न सजिलो छैन । अब प्रस्तावको ललिपप बामदेवका लागि निल्नु न ओकेल्नु हुनेछ । न त निल्न मिल्छ न त ओकेलेर विरोधको धरातलमा आउन नैतिकताले दिनेछ । इमानदारी राजनीतिको ओत लागेर पदीय बाजी मार्न लागेका बामदेव सम्भवतः अब राजनीतिमा नमजाले नाङ्गिने सम्भावना बलियो देखिएको छ । पदका लागि गरिने बिरोधको ‘ओली झापड’ बामदेवलाई नमजाले लाग्ने निश्चितप्रायः भइसकेको छ । अब न त अगाडि बढ्न सकिनेछ न त पछाडि फर्कन मिल्नेछ । यसले प्रधानामन्त्री ओली झनै बलियो बनेका छन् । पार्टी पङ्तिमा कमजोर बन्दै गएका प्रधानमन्त्रीले अप्रत्याशीत रुपमा बलियो बन्ने मात्र होइन आफूलाई एक सफल डिप्लोम्याटिक नेताको रुपमा उभ्याउने छन् ।