१५ अस्पतालबाट प्लाज्मा थेरापीका आधारमा कोभिड सङ्क्रमितको उपचार हुने – Kanika Khabar
Friday, March 21Nepali News Portal

१५ अस्पतालबाट प्लाज्मा थेरापीका आधारमा कोभिड सङ्क्रमितको उपचार हुने

    मा प्रकाशित

कनिका खबर
साउन २०, सप्तरी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रूपमा अगाडि बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति दिइएको १५ अस्पतालमध्ये आठ वटा काठमाडौँ उपत्यकाका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै प्लाज्मा थेरापी उपचारको परीक्षण गरिएको छ । एकजनाको स्वास्थ्य अवस्थामा ७० प्रतिशत सुधार देखिएको छ । अर्को एक जना उपचारको प्रक्रियामा रहेको अस्पतालमा कोभिड–१९ प्लाज्मा थेरापीका संयोजक डा सन्तकुमार दासले सीआईएनलाई जानकारी दिनुभयो । उपत्यकाबाहिर सात वटा अस्पताललाई उपचारको अनुमति दिइएको छ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले उपत्यकाभित्रका मेडिसिटी, ग्राण्डी र हयाम्स अस्पताललाई ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो । परिषद्का अनुसार उपत्यकाको काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् । परिषद्का सदस्य सचिव ज्ञवालीले १५ वटै अस्पतालबाट दुई दुई जना चिकित्सकलाई अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्