आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Saturday, August 1Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो । मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा  प्रतिस्पर्धामा थिए।  नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । नेकपासँग भएको भागबण्डाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । जस अनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन् ।

२- नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ब्रोड पिकबाट आएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘निम्स, ‘प्रोजेक्ट पोसिबल’ अघि, संसारले तपाईंको नाम चिन्नुअघि र तपाईंले हिमालमा सम्भावनाको परिभाषा नै बदल्नुअघि नै मैले तपाईंलाई भेटेको थिए । तपाईं सधैँजस्तै यसपटक पनि फर्कने बाटो खोज्नुहुन्छ भन्ने मेरो गहिरो विश्वास थियो ।’ थापाले निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान केवल कीर्तिमान नभई विश्वले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुर्जाले नेपालीहरू केवल आरोहण अभियानका लागि आवश्यक शक्ति मात्र नभई नेतृत्वकर्ता, नयाँ बाटो देखाउने व्यक्ति र पर्वतारोहणको भविष्य परिवर्तन गर्न सक्ने सिर्जनशील शक्ति हुन् भन्ने प्रमाणित गरेको बताएका छन् । ‘तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ,’ थापाले उल्लेख गरेका छन्। सभापति थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि स्मरण गरेका छन् । उनले प्रत्येक नाम पछाडि साहस, त्याग, सपना र घरमा प्रतीक्षारत परिवारको कथा रहेको उल्लेख गरेका छन् । थापाले दिवङ्गत सबै आरोहीका परिवार, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरू सधैँ स्मरणमा रहने बताएका छन् ।

३- प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको उच्च अभिव्यक्ति भएको बताएका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गरेका छन् । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनको भनाइ छ । प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले निर्मल पुर्जासहित निधन भएका सबै आरोहीको भौतिक यात्रा मात्र रोकिएको तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले दिवङ्गत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

४- आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिडले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल पुर्जाको दुःखद निधन भएको पुष्टि भएको जनाएको छ । साथै, उक्त आरोहण दलका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको उल्लेख गरिएको छ । एलिट एक्सपिडले यस दुःखद घटनामा निर्मल पुर्जासँगै उनका विश्वासिला आरोहण सहयात्री तथा पथप्रदर्शक पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको जनाएको छ । कम्पनीले शोक वक्तव्य जारी गर्दै यस दुर्घटनामा ज्यान गुमाउने सबैप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेको छ । हिमपहिरोमा परेका आरोहीहरुमा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।

५-  बलिवुड अभिनेता शाहरुख खान अभिनीत आगामी फिल्म ‘किङ’ को सङ्गीत अधिकार करिब ५० करोड भारतीय रुपैयाँमा बिक्री हुने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता दुई सफल चलचित्र दिएपछि शाहरुख यस वर्षको क्रिसमसमा निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ मार्फत दर्शकमाझ आउँदै छन् । फिल्मको चर्चा उच्च रहेको बेला यसको सङ्गीत अधिकारका लागि विभिन्न कम्पनीबीच प्रतिस्पर्धा भइरहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोनी, सारेगामा र टी-सिरिजले अधिकार खरिदका लागि ठूलो रकम प्रस्ताव गरेका छन् । तीमध्ये एक कम्पनीले करिब ५० करोड भारतीय रुपैयाँको प्रस्तावसहित अग्रस्थानमा रहेको जनाइएको छ । यदि यो सम्झौता सम्पन्न भएमा हिन्दी चलचित्र उद्योगमा मूल सङ्गीत एल्बमका लागि भएका सबैभन्दा ठूला सम्झौतामध्ये यो तेस्रो हुनेछ । यसअघि ‘रामायण’ र ‘धुरन्धर-२’का सङ्गीत अधिकार अझ ठूलो रकममा बिक्री भएका थिए । ‘रामायण’का दुवै भागको सङ्गीत अधिकार करिब ७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको बताइएको छ। निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ आगामी क्रिसमस २०२६ को अवसरमा प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेको छ भने करिब १५ दिनको काम मात्र बाँकी रहेको जनाइएको छ । अहिले फिल्मको सम्पादन तथा अन्य प्राविधिक काम तीव्र रूपमा भइरहेको बताइएको छ ।

६- जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नम्बर २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ । सरकारले देशका विभिन्न ठाउँमा  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ ।

७-  नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिएका छन् । भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताएका छन् । पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदिय जिम्मेवारीमा रहेका नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको कोइरालाले उल्लेख गरेका थिए । संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको बलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरू बीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ। कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ । भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ ।

८- रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रबाट ठूलो आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार राजधानीका विभिन्न क्षेत्रमा एकपछि अर्को गर्दै विस्फोट भएका थिए । किभका मेयर भिताली क्लिच्कोले शहरमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्दै विभिन्न स्थानमा आगलागी भएको र केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको बताएका छन् । अधिकारीहरूका अनुसार सोलोमियान्स्की जिल्लामा रहेको पाँचतले आवासीय भवनको एक भाग भत्किएको छ । उक्त भवनमा भएको क्षतिमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित आठ जना घाइते भएका छन् । पछिल्ला केही दिनयता रुसले किभमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको तीव्रता बढाएको छ । निरन्तर आक्रमण भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आधुनिक अवरोधक क्षेप्यास्त्रको आवश्यकता रहेको बताएका छन् । यसै साता राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै प्याट्रियट अवरोधक क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति उपलब्ध गराउन आग्रह गरेका थिए । यद्यपि, शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले हालसम्म युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादनको अनुमति नदिएको, तर यस विषयमा छलफल भने जारी रहेको बताएका छन् ।

९- नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन् । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले सत्ता प्राप्त मात्र भन्दा पनि राजनीति भन्दा ठुलो मानव सेवा केहि नभएको बताएका हुन् । उनले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उनले बताए । उनले सीपमा आधारित विपद् व्यवस्थापनमा जोड दिदै विपद्को समयमा उद्धार गर्न भावना, इच्छा र स्वतःस्फूर्त कार्य मात्र पर्याप्त नहुने धारणा राखे ।  सुनसरी घटनामा पनि आफुहरुले स्व: स्फुर्त रुपमा स्थिति साम्य गराउन भूमिका खेलिरहेको बताउदै त्यसैले नेपाली काँग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गरे । उनले सबै पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिदै संयन्त्रले घटना घटेपछि मात्र सक्रिय हुने नभई निरन्तर रूपमा विपद् सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने स्पष्ट गरे । विपदमा उद्धार गर्न सीप पनि चाहिने भएकाले आफुहरुले प्रशिक्षण दिन लागेको बताउदै प्राकृतिक प्रकोपका पीडितहरूलाई राहत र उद्धार गर्न भावनाले मात्र नहुने बताए ।

१०- सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ । उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो । सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुरसम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतहरूमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मालाइ प्रतिवेदन बुझाएकी हुन् । कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ । यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ। त्यसैले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनःस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।

११- नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आवश्यकताअनुसार ग्यासको नियमित आपूर्ति भइरहेको जनाएको छ । निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहे पनि विभिन्न सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार प्रकाशित तथा प्रसारित भइरहेकाले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमका अनुसार असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताका ग्यास सिलिन्डर बिक्री–वितरणको व्यवस्था लागू गरिएको छ। त्यसपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सबै ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यसैगरी, ग्यास विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकता दिई खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न निगमले निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा केही कम्पनीका ग्यासको उच्च मागलाई ध्यानमा राख्दै निगमले साउन १६ गते शनिबारदेखि टेकुस्थित आफ्नै कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमले खाना पकाउने ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ ।

१२- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश जारी गर्दै देशका युवाहरुसँग मिलेर काम गर्ने बताएका छन् । जन्तरमन्तरमा भएको घटनाको प्रसङ्ग उठाउँदै उनले आफू र आफ्नी स्वर्गीय आमाप्रति अपमानजनक शब्द प्रयोग गरिएको भए पनि ती युवालाई सजाय होइन, क्षमा र सही मार्गदर्शन दिनुपर्ने धारणा व्यक्त गरेका छन् । भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले जन्तरमन्तरमा भएको घटनालाई देश र विश्वले देखेको उल्लेख गर्दै केही युवाले सभ्य समाजले स्वीकार गर्न नसक्ने भाषा प्रयोग गरेको बताए । उनले आफू र आफ्नी स्वर्गीय आमालाई समेत अपशब्द प्रयोग गरिएको स्मरण गराउँदै यस घटनालाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताए । उनले बाल्यकाल र किशोरावस्थामा गल्ती हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यही उमेरमा सुधारको अवसर पनि हुने बताए । घटनाप्रति समाजमा आक्रोश रहेको स्वीकार गर्दै उनले यस्ता युवालाई समाजबाट अलग पार्नु वा तिरस्कार गर्नुको सट्टा सही बाटो देखाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री मोदीले भड्किएका युवालाई अदालत धाउन बाध्य बनाउने वा सामाजिक रूपमा अपमानित गर्ने कार्यले समस्या समाधान नहुने बताए। उनले आफू ती युवालाई क्षमा गर्न चाहेको उल्लेख गर्दै समाजलाई पनि त्यही भावना अपनाउन आग्रह गरे । आफ्नो धारणा स्पष्ट पार्दै उनले दाँतले जिब्रो टोकिए पनि दाँत नफालिने उदाहरण दिए। उनका अनुसार दाँत र जिब्रो दुवै आफ्नै अंग भएजस्तै ती युवा पनि समाजकै हिस्सा भएकाले उनीहरूलाई सही दिशामा लैजानु सबैको दायित्व हो । प्रधानमन्त्री मोदीले युवालाई आफ्ना गल्तीबाट सिकेर देशको विकासमा सक्रिय सहभागी हुन आग्रह गरे । उनले भारत तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै युवाको भविष्य उज्ज्वल रहेको र प्रत्येक युवाले सफलता हासिल गर्दै देशलाई नयाँ उचाइमा पुर्‍याओस् भन्ने आफ्नो चाहना रहेको बताए । पछिल्ला नौ दिनमा प्रधानमन्त्री मोदीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको यो पाँचौं भिडियो सन्देश हो । यसअघिका भिडियोहरूमा उनले प्रश्नपत्र चुहावटविरुद्ध कडा कानुन, परीक्षा सञ्चालन गर्ने निकायमा सुधारका लागि कार्यदल गठनलगायत विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

१३- नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका –०८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । कावासोतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका –०८ बस्ने ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो । अनुसन्धानका क्रममा बिहान करिब ७: ३० बजे मध्यबिन्दु नगरपालिका –११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिईएको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

१४- जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै लहान नगरपालिकाको विभिन्न क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि लहान क्षेत्रको कर्फ्यु हटाइएको जानकारी दिएको छ । सिरहाको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नम्बर ४ मा रहेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा भने कर्फ्यु यथावत रहेको छ ।

१५- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार साउन १६ गते बिहान ९ बजेसम्म गरिएको कारबाहीमा सबैभन्दा धेरै धनुषाबाट ४५ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २-२ जना र पर्सा र सप्तरीबाट १-१ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव बिथोल्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाही अघि बढाइएको जनाएको छ । नेपाल प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्न सबैलाई संयमित हुन आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ । प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसहित सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेको छ ।

१६- राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी  दिने निर्णय गरेको हो । आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। साथै प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ । पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ । श्रावण १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ । युवा दिवसको अवसरमा संसदसम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम, इन्स्पाएरिङ म्यासेज कम्पिटिसन, राष्ट्रव्यापी सरसफाई कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थन लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ । जिम्मेवारी तोकिएका सदस्यहरूले आवश्यक गृहकार्य गरी आगामी बैठकमा विस्तृत विवरण प्रस्तुत गर्नेगरी बैठक सम्पन्न भएको छ ।

१७-  ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको हो । उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट साउन १५ गते नियन्त्रणमा लिएको जनाएको छ । अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

१८- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजना अन्ततः खारेज गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि उक्त प्रस्ताव फिर्ता लिने घोषणा गरेका हुन् । इन्फान्टिनोले उक्त योजनाले फिफाभित्र विभाजन सिर्जना गरेको र अब त्यसलाई अघि बढाउनु मूल उद्देश्यअनुकूल नरहेको बताए । उनले भने, ‘यस कारण यो प्रस्ताव अब अगाडि बढाइने छैन ।’ इन्फान्टिनोले यसअघि फिफाका २११ सदस्य राष्ट्रलाई निजी लगानीको प्रस्ताव समर्थन गरेमा प्रत्येकलाई चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव राखेका थिए । उक्त योजनाअन्तर्गत पुरुष र महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई अल्पांश स्वामित्व दिने तयारी गरिएको थियो । तर युरोपेली फुटबल महासंघका ५५ सदस्य राष्ट्रले योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका थिए । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल महासंघले पनि प्रस्ताव अस्वीकार गरेको जनाएको थियो । त्यसपछि एसियाली फुटबल महासंघले पनि युरोपेली र उत्तर तथा मध्य अमेरिकी महासंघको पक्षमा ऐक्यबद्धता जनाएको थियो । यसरी युरोपका ५५, उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियनका ३५ र एसियाका ४६ सदस्य राष्ट्र गरी १३६ मत प्रस्तावको विपक्षमा जाने अवस्था बनेपछि इन्फान्टिनोको योजना पारित हुने सम्भावना समाप्त भएको थियो । प्रस्ताव पारित गर्न कम्तीमा १०६ सदस्य राष्ट्रको समर्थन आवश्यक थियो । विवाद बढेसँगै फिफाका वरिष्ठ रणनीतिक सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट राजीनामा दिएका छन् । उनले यो प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै यसले फुटबलको भविष्य नै जोखिममा पार्ने बताएका छन् । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामुरले पनि यो योजना संस्थाभित्रकै धेरै अधिकारीलाई जानकारी नदिई अघि बढाइएको दाबी गर्दै यसलाई “एक व्यक्तिको परियोजना’ भनेका छन् । फिफाले निजी लगानीकर्तालाई सहभागी गराएर फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ व्यावसायिक संस्था स्थापना गर्ने योजना बनाएको थियो । अमेरिकी लगानी कम्पनी थ्राइभ इटरनलले प्रस्तावित लगानी समूहको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । यो कम्पनी अमेरिकी उद्यमी जोसुवा कुशनरले स्थापना गरेका हुन् । योजनाअनुसार लगानी बैंक जेपी मोर्गनले तयार पारेको २५ पृष्ठको दस्तावेजमा फिफाका प्रतियोगिताबाट हुने आम्दानी बढाएर सन् २०३५-२०३९ को अवधिमा प्रत्येक सदस्य राष्ट्रलाई करिब दुई करोड ४० लाख युरोसम्म वितरण गर्न सकिने उल्लेख गरिएको थियो ।  तर उक्त दस्तावेजमा महिला फुटबलबारे कुनै उल्लेख गरिएको थिएन । यस घटनापछि ५६ वर्षीय इन्फान्टिनोमाथि अर्को कार्यकालका लागि पुनः अध्यक्ष बन्ने अभियानमा ठूलो दबाब परेको छ । आगामी मार्चमा मोरक्कोमा हुने फिफाको ७७औँ महाधिवेशनबाट नयाँ अध्यक्ष चयन हुनेछ भने उम्मेदवारी दर्ताको अन्तिम मिति आगामी नोभेम्बर १८ तोकिएको छ ।

१९-  विभिन्न माग राखी आन्दोलनरत रहेका लघुवित्त पीडितहरू र सरकारद्वारा गठित वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा सरकारी वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरूद्धको संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिसँगै संघर्ष समितिले देशभर जारी रहेका आन्दोलन र अनसनका सबै कार्यक्रम अन्त्य गर्ने घोषणा गरेको छ । सम्झौताअनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ मा बुझाएको प्रतिवेदन कार्यान्वयनको योजनासहित १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गरिनेछ ।  लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमति कार्यान्वयन गर्न सरकारका नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयको माग गर्दै गत मंगलबारदेखि सयभन्दा बढी पीडित काठमाडौंको माइतीघरमा संयुक्त आन्दोलनमा उत्रिएका थिए । समितिका अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा तीन दर्जनभन्दा बढी आमरण अनसन बसेका थिए भने बाँकीले ओढ्ने ओच्छ्याउने र खाद्यन्नसहित माइतीघरमै संघर्ष जारी राखेका थिए । सहमतिका बुँदा:  १- लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको मिति २०८१/०४/२२ को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि १५ (पन्ध्र) दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने । २- समस्यामा परेका लघुवित्त ऋणीहरुको पुनरोत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन एवं कालोसूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपर्युक्त कार्यान्वयनयोग्य विकल्प सहित प्रतिवेदनमा सिफारिस गर्ने । ३- ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन गर्ने र सो को नेपाल राष्ट्र बैंकले कडाइका साथ अनुगमन गर्ने । ४- लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरितका कार्यहरु उपर प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने । ५- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू आजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने ।

२०-  स्पेनको स्वायत्त सहर सिउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा ३४ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार बिहीबार बिहान करिब तीन हजार आप्रवासी एकैपटक मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्दा दुर्घटना भएको हो । सीमामा तैनाथ सुरक्षाकर्मी र सुरक्षा बारबीचको साँघुरो बाटोमा ठूलो भीड भएपछि मानिसहरू एकअर्कामाथि खसेका थिए । भीडमा च्यापिएर, सास फेर्न नसकेर तथा समुद्रमा डुबेर उनीहरूको मृत्यु भएको बताइएको छ । घटनामा स्पेन र मोरक्कोका एक सयभन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् । स्पेनी सरकारले पछिल्लो २४ घण्टामा मात्रै मोरक्कोबाट करिब ६० हजार व्यक्ति पौडी खेलेर वा पैदल हिँडेर सिउटा प्रवेश गरेको जनाएको छ । यो संख्या सिउटाको कुल जनसंख्याको करिब ७० प्रतिशत बराबर हो । सिउटा भौगोलिक रूपमा अफ्रिकी महादेशमा भए पनि यो स्पेन र युरोपेली सङ्घको हिस्सा हो । त्यसैले सिउटामा प्रवेश गर्नेबित्तिकै व्यक्ति युरोपेली सीमाभित्र पुगेको मानिन्छ । सिउटा र मोरक्कोबीच करिब आठ किलोमिटर लामो सुरक्षा बार रहेको छ । केही आप्रवासी बार चढेर वा काटेर प्रवेश गर्ने प्रयास गर्छन् भने धेरैले समुद्री मार्ग रोज्ने गरेका छन् । समुद्री क्षेत्रको पूर्ण निगरानी गर्न कठिन हुने भएकाले यो मार्ग बढी प्रयोग हुने गरेको छ । अफ्रिका र एसियाका धेरै मुलुकमा गरिबी, बेरोजगारी, युद्ध र भोकमरीका कारण मानिसहरू राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहन्छन् । लामो समुद्री यात्रा गर्नुको सट्टा मोरक्को हुँदै सिउटा पुग्ने बाटो तुलनात्मक रूपमा छोटो र सहज मानिन्छ । सिउटामा प्रवेश गरेपछि उनीहरूमाथि स्पेन र युरोपेली सङ्घका कानुन लागू हुन्छन् । अन्तर्राष्ट्रिय नियमअनुसार उनीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन मिल्दैन । उनीहरूलाई अस्थायी शिविरमा राखेर शरणका लागि आवेदन दिने अवसर दिइन्छ। सन् २०२४ को नोभेम्बरमा एक अल्जेरियाली आप्रवासीलाई समुद्रमै पक्राउ गरी कुनै कानुनी प्रक्रिया पूरा नगरी मोरक्कोलाई बुझाइएको घटनाविरुद्ध अदालतमा मुद्दा परेको थियो । यसै मुद्दामा स्पेनको सर्वोच्च अदालतले २०२६ जुलाई ८ मा फैसला गर्दै समुद्री मार्गबाट स्पेनको सीमाभित्र प्रवेश गरिसकेका व्यक्तिलाई सुनुवाइबिनै तत्काल फिर्ता पठाउन नमिल्ने निर्णय गरेको थियो। अदालतले सीमाको सुरक्षा बार नाघेर प्रवेश गर्न खोज्ने व्यक्तिको हकमा भने तत्काल फिर्ता पठाउन सकिने उल्लेख गरेको छ । यस निर्णयपछि समुद्री मार्ग प्रयोग गर्ने आप्रवासीको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ। मानव तस्करहरूले पनि यही कानुनी व्यवस्थालाई आधार बनाएर समुद्री मार्गबाट प्रवेश गर्न प्रेरित गरेको जनाइएको छ । घटनापछि स्पेन सरकारले सिउटाको सीमामा सुरक्षा व्यवस्था थप कडा बनाएको छ। अतिरिक्त सैनिक परिचालन गर्नुका साथै हवाई र समुद्री निगरानी बढाइएको छ। समुद्री मार्गबाट आउने आप्रवासीमाथि निगरानी गर्न गोताखोर टोलीसमेत परिचालन गरिएको छ। युरोपेली सङ्घले पनि स्पेनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। केही विश्लेषकका अनुसार मोरक्कोले यो अवस्थालाई स्पेनमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको हुन सक्ने विश्लेषण गरेका छन् । मोरक्कोले लामो समयदेखि सिउटा र मेलिला आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने स्पेनले ती दुवै सहर आफ्नो अभिन्न हिस्सा भएको बताउँदै आएको छ । मोरक्कोले सन् १९५६ मा स्पेनबाट स्वतन्त्रता पाए पनि सिउटा र मेलिला स्पेनकै नियन्त्रणमा रहे । स्पेनले सिउटामाथि आफ्नो नियन्त्रण करिब ३५० वर्षदेखि रहेको र त्यसबेला आधुनिक मोरक्को राज्य नै अस्तित्वमा नरहेको तर्क गर्दै आएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्