दाङ, साउन ३० । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले ‘जर्नी टु जिनियस एक्स्पो–२०८३’ तथा संस्थागत विद्यालयसँग सम्बन्धित समसामयिक विषयमा बृहत् छलफल गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको भेला आयोजना गर्ने भएको छ। भेला भोलि साउन ३१ गते आयोजना हुँदै छ।
जिल्लाको संस्थागत विद्यालय क्षेत्रका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे विद्यालय नेतृत्व तहमा व्यापक छलफल गर्ने उद्देश्यले आयोजना हुन लागेको भेलामा विशेषगरी जर्नी टु जिनियस एक्स्पो–२०८३ लाई प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा केन्द्रित भएर अन्तरक्रिया गरिने छ।
प्याब्सन दाङको आयोजनामा आगामी असोज ९, १० र ११ गते घोराहीमा जर्नी टु जिनियस एक्स्पो–२०८३ आयोजना हुँदैछ। विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता, वैज्ञानिक सोच, खोज, अनुसन्धान तथा नवप्रवर्तनलाई उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको एक्स्पोलाई जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको छ।
भेलामा एक्स्पोको उद्देश्य, कार्यक्रमको स्वरूप, विद्यालयहरूको सहभागिता, विद्यार्थी तथा शिक्षकको भूमिका, व्यवस्थापकीय तयारीलगायतका विषयमा छलफल हुनेछ। साथै एक्स्पोलाई विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनसँग जोड्दै प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विद्यालय नेतृत्वबाट सुझाव तथा रायसमेत लिइने छ।
यसैगरी भेलामा संस्थागत विद्यालयका वर्तमान चुनौती तथा तिनका सम्भावित समाधानका उपाय बारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने छ। बदलिँदो शैक्षिक परिवेश, विद्यालय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या, गुणस्तरीय शिक्षा, विद्यार्थी तथा अभिभावकका अपेक्षा, प्रविधिको बढ्दो प्रयोग र संस्थागत विद्यालयको भूमिकालगायतका समसामयिक विषयमा सहभागीबीच विचार आदानप्रदान हुनेछ।
भेलालाई प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारी, निवर्तमान सचिव यादव गिरी, प्राज्ञिक परिषद् सदस्य अरुण सुवेदी तथा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरूको सहभागिताले संस्थागत विद्यालयका साझा समस्या पहिचान गर्न, समाधानका लागि साझा धारणा निर्माण गर्न तथा शैक्षिक क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्न महत्वपूर्ण योगदान पुग्ने प्याब्सन दाङले जनाएको छ।
प्याब्सन दाङले जिल्लाका सबै संस्थागत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई भेलामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। जर्नी टु जिनियस एक्स्पो–२०८३ लाई विद्यार्थीको प्रतिभा, सिर्जना र सम्भावना उजागर गर्ने साझा शैक्षिक अभियानका रूपमा अघि बढाउने तथा संस्थागत विद्यालयका चुनौती समाधानका लागि सामूहिक पहल गर्ने उद्देश्यले भेला आयोजना गरिएको जनाइएको छ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीद्वारा जारी विज्ञप्तिमा विद्यालय नेतृत्वको सामूहिक सहभागिता, सहकार्य र साझा प्रतिबद्धताबाट एक्स्पोलाई अपेक्षित उद्देश्यअनुरूप सफल बनाउन सकिने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमार्फत विद्यार्थी, विद्यालय, अभिभावक, शिक्षाप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई एक्स्पो सफल बनाउन रचनात्मक साथ तथा सहयोगका लागि समेत अपिल गरिएको छ।



