मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम : अर्गानिक उत्पादनमा जोड – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम : अर्गानिक उत्पादनमा जोड

    मा प्रकाशित

कनिका खबर
असोज १, पर्वत
मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम शुरु भएपछि पर्वतका ५ वटा गाउँमा उन्नत तरिकाले खेतीपाती हुन थालेको छ । कार्यक्रम शुरु भएका गाउँका किसानले विभिन्न बाली उत्पादन गरेर मनग्य कमाई गर्न थालेका छन् । कुश्मा नगरपालिका १ पाङ, मोदी गाउँपालिका ७ राम्जादेउराली, फलेवास १० कुर्घा, बिहादी गाउँपालिका ३ रानीपानी र पैयुँ गाउँपालिकामा कार्यक्रम शुरु भएको हो । कार्यक्रम कार्यान्वयन भएको दुई वर्षमै कुश्मा नगरपालिका १ पाङका ८५ वटा घरमा टनेलमा तरकारी खेती भइरहेको छ । गोरु नारेर खेतीपाती गर्नेका घरमा यान्त्रीक हलो छ । रासायनिक मल प्रयोग गर्ने किसानले भकारो सुधार गरि ट्याङ्कीमा संकलन भएको गाईभैसीको गहुँत प्रयोग गर्न थालेका छन् । स्थानीय इन्द्र कँडेल गहुँत संकलन गरेर रासायनिक मलको प्रयोग कम गर्ने र तरकारी खेती बढाउन उपयोगी हुने बताउनुहुन्छ । मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम शुरु भएपछि किसानले परम्परागत सीप र ज्ञानसँगै आधुनिक तरिकाले खेती गर्ने सीप पाएका छन् । स्थानीयले कुनै समस्या देखिए गाउँमै खटिने प्राविधिकको सल्लाह पाउँछन् । कार्यक्रमले किसानलाई उन्नत बालीतर्फ आकर्षित गराएको बताउनुहुन्छ, अर्का किसान शंकर रिजाल । घरखर्च चलाउन श्रीमानसँग हात थाप्नुपर्ने महिलाहरू आफैँ तरकारी खेती गरेर घर खर्च जुटाउन सफल भएकोमा दङ्ग छन् । मोदी ७ राम्जादेउरालीका अनिता क्षेत्रीले भन्नुभयो, ‘फलामको टनेल छ, एउटा बाँसको टनेल बनाएका छौं, अब प्लाष्टिक राखेर त्यसमा काक्राहरू फल्न सुरु गरेको छ । सिमी, बोडी, काक्राहरू लगाएका छौं, आफूलाई खान पुगेर खर्च पनि पुगेको छ ।’ अधिकांश घरमा दुईवटा÷तीनवटा टनेल रहेको उहाँले बताउनुभयो । लागतको ८५ प्रतिशतसम्म प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिने गरेको छ । कार्यक्रम कार्यान्वयन भएको गाउँमा समूह बनाएर खेती गर्न थालिएको छ । अन्य ठाउँमा भन्दा विशिष्ठ रुपमा बाली लगाउने प्रतिस्पर्धा चलेको कृषि प्राविधिक अस्मिता पौडेलले बताउनुभयो । कार्यक्रम प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्त्रण गरेर दीर्घकालीन रुपमा अगाडी बढाइने पनि उहाँले बताउनुभयो । बाँझो रहने जग्गा अहिले बाँझो छैन । पाङमा कार्यक्रम कार्यान्वयन गर्ने पहिलो वर्ष २५ लाख रुपैयाँ र गतवर्ष १५ लाख, राम्जामा गतवर्षबाट शुरु भएकोले २५ लाख अनुदान प्राप्त भएको थियो । फलेवासमा दोस्रो वर्षमा र बिहादी र पैयुँमा गत वर्षदेखि कार्यक्रम शुरु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्