कनिका खबर
असोज १३, दाङ ।
इरानमा कोरोना भाइरस महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।
मध्यपूर्वका देशमध्ये इरान कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । इरानमा आइतबार मात्रै कोरोनाका कारण १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए ।
त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो । इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन् । अहिले अस्पतालमा एक हजार ३७७ जना रहेको त्यहाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।