कनिका खबर
कार्तिक २०, पर्वत
गम्भिर खालका कोरोना सङक्रमितको पनि पर्वत अस्पतालमै उपचार हुने भएको छ । पोखराका अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएपछि पर्वत अस्पतालले कोरोना सङ्क्रमितलाई पोखरा रिफर नगरि जिल्लामै उपचार गर्न अस्पतालमा सबै खाले पूर्वाधार तयार पारेको जनाएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अक्सिजन, भेन्टिलेटर र आइसियू कक्षको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । तिहार लगत्तै पर्वत अस्पतालले गम्भिर विरामीलाई भर्ना गरेर उपचार थाल्ने देवकोटाले जानकारी दिनुभएको छ । अस्पतालले प्रदेश सरकारको सहयोगमा हालै अक्सिजन प्लाण्ट शुरु गरेको छ भने भेन्टिलेटर जडान गरेको छ । तिहारपछि जिल्लामा कोरोना सङ्क्रमित बढ्ने अनुमान गरिएको छ । विगत एक महिनाको अवधिमा जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अहिलेसम्म १ सय ७७ जना सङ्क्रमित भएका छन् । दुईसय एक जना निको भएपनि १९ जना होम आईसोलेसन र ५ जना अस्थाई कोरोना अस्पतालमा उपचाररत छन् । पर्वतमा कोरोना सङ्क्रमितमा गम्भिर लक्षण देखिएमा पोखरा रिफर गर्ने गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित देखिन थालेपछि अस्पतालमा चाप बढ्दो छ । आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने गम्भिर बिरामीहरू बढेका छन् । पोखरामा अस्पताल भरिन थालेपछि सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा भेन्टिलेटर सहितको अस्पताल चलाउन निर्देशन दिएपछि पर्वतमा पनि कोभिड अस्पताल सञ्चालन गर्न थालिएको बुझिएको छ । जिल्लाका सबै स्थानीय तहहरूले पनि पाँच बेडको अस्थाई अस्पताल निर्माण गरिरहेका स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
मा प्रकाशित