एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । संगठनका प्रमुख डा.टेड्रोस एड्हनोम गेब्रेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको प्रयास असफल भएको टिप्पणी गर्नुभयो ।
उहाँले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताउनुभयो । अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खोप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताउनुभयो ।
हालसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । कोरोनाविरुद्धको खोप वितरण समान नरहेकाले यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै संगठनले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।