बिकास अधिकारी
जेठ ५, नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता स्थित भारतीय सीमावर्ती नाकामा गोली चल्दा एक जना युवकको मृत्यु भएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाँउपालीका वडा नम्बर ६ कठहवाका २२ वर्षका अविनाश राजभरको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर गम्भीर घाईते भएका उनको स्थानिय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । आज बिहान तीन चार जना युवाहरु सुस्ता ५ को वनकट्टी नाकाबाट नेपाल तर्फ प्रवेश गर्ने क्रममा सीमामा खटिएका शसस्त्र प्रहरीसँग विवाद भएको थियो ।
विवादपछि आक्रोशित युवाहरुले गाँउका अन्य मानिसलाई खबर गरी ५०/६० जना एकै पटक आई ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरीक्षक महेस अधिकारीले जानकारी दिनुभयो । घटनामा शसस्त्र प्रहरी तर्फका एक जना जवान पनि घाईते भएका छन् । कोरोना महामारीको समय भएकाले सीमाबाट आउजाउ गर्न कडाई गरिएको छ ।