असोज २८, दाङ ।
सर्वोच्च अदालतले बाँकेका रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ । खानलाई रिहा गर्न माग गर्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमा खानलाई विनाकसुर पक्राउ गरिएको भन्दै उहाँलाई तत्काल छोड्न माग गरिएको थियो । खानलाई बहुविवाहको कसुरमा पक्राउ गरिएको थियो । रिटको तर्फबाट अधिवक्ताद्वय अन्सारी रओमप्रकाश अर्यालले बहस गरेका थिए ।
बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका– १९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो । तर, उनीहरूको मृत्युबारे प्रहरीले गहन अनुसन्धान नगरेको भन्दै ११ जना पुरुष र ३ जना महिला गरी १४ जनाको टोली बाँकेबाट पैदल हिँडेर काठमाडौं आएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत असोज १ मा यात्रा सुरु गरेको उक्त टोली असोज २१ गते काठमाडौं आइपुगेको थियो। टोलीकी एक सदस्य रुबी खानलाई प्रहरीले बहुविवाहको आरोपमा धर्नास्थलबाट असोज २२ गते पक्राउ गरेको थियो ।