जेठ ७, काठमाडौँ ।
वैदेशिक रोजगार कार्यालय काठमाडौंले अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सुरू गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्य अनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड हटेको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रूपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख रमेश अर्यालले बताउनुभयो ।