कनिका खबर
भदौ २५, काठमाडौं
नेपाली काँग्रेसमा एक /एक उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गर्न माग उठेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिलाका मुद्दा र नेपाली काँग्रेस विषयमा बागमती प्रदेशस्तरमा गरेको भर्चुअल कार्यक्रममा महिला नेतृहरुले अर्चुअल बैठक गर्दै पार्टीको विधान सच्याएरै भए पनि पदाधिकारीमा महिला सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल महिला संघमा आवद्ध नेतृहरूले पार्टीको दुई उपसभापतिमध्ये एकमा महिला र तीन महामन्त्रीमध्ये कम्तिमा एक जना महिला अनिवार्य हुने गरी विधान सच्याउन माग गरेका हुन् । सिन्धुली महिला संघकी नेतृ गंगा दाहालले आउँदो १४ औं महाधिवेशनमा पदाधिकारी तहमा महिलालाई र्पुयाउन विधानको अड्चन हटाउनुपर्ने माग गर्नुभयो । रामेछाप महिला संघकी अध्यक्ष गंगा अधिकारीले आरक्षणका लागि मात्रै महिलाहरू पार्टी भित्र लडेकोजस्तो देखिएकाले महिला नेतृत्वमा पुग्न देशैभरका महिला एकजुट हुनुपर्ने बताउनुभयो ।
सिन्धुपाल्चोक महिला संघकी नेतृ गीता नेपालले भने आरक्षणमा पर्नुपर्छ भन्ने सोचबाट मुक्त भएर खुला प्रतिस्पर्धा गर्ने क्षमता महिला नेतृले राख्नुपर्ने बताउनुभयो । महिला संघ काभ्रेकी नेतृ निर्मला श्रेष्ठले विधान संशोधन गरेर भए पनि पदाधिकारीमा महिला सुनिश्चितता गर्नुपर्ने माग गर्दै मुख्य पदमा कम्तिमा १५ प्रतिशत महिला हुनुपर्ने बताउनुभयो । कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले अब नेतृत्वमा पुग्ने बेला आएको भन्दै सधैं माग्ने ठाउँमा बसेर नहुँने धारणा राख्नुभयो । क्रियाशील सदस्यता वितरण नै पुरूष केन्द्रित रहेको पन्तको आरोप थियो ।