यस्तो छ लुम्विनी प्रदेशको राजधानी भालुबाङको नालेबेली :भौगोलिक, ऐतिहासिक तथा प्राकृतिक महत्वको एक चर्चा – Kanika Khabar
Friday, May 14Nepali News Portal

यस्तो छ लुम्विनी प्रदेशको राजधानी भालुबाङको नालेबेली :भौगोलिक, ऐतिहासिक तथा प्राकृतिक महत्वको एक चर्चा

    मा प्रकाशित

केवि मसाल

Image may contain: 1 person, plant, tree, outdoor and closeup

भालुवाङ भनेको खाम मगर भाषामा भालुचौर भनेको हो । अठार मगरातहरुको भाषामा ‘वाङ’ भनेको ‘चौर’ भन्ने अर्थ लाग्दछ । मगरहरुले बोल्ने मातृ भाषालाई अठार मगरात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरिएको छ ।

बाह्र मगरात अन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ भने अठार मगरातमा बोलिने मगर भाषालाई खाम भाषा भनिन्छ । रोल्पा, रुकुमका खाम भाषिका जातीहरु पैदल हिँडने समयमा नुनतेल खरिद र देश विदेशको यात्रामा जाने प्रमुख मार्ग भालुवाङ भएकोले समथर भाग अर्थात् चौरमा भालु समेत लाग्ने हुनाले ठाउँको नाम पनि भालुबाङ राखेको अनुमान गर्न सकिन्छ । भालुबाङको नाम मात्र होइन रोल्पा र प्युठानमा समेत धेरै ठाउँका नामहरु खाम भाषामा राखिएको छ ।

दाङ जिल्लाको पूर्व–पश्चिम राजमार्गमा पर्ने भालुवाङ प्रकृतिले सजिएको छ । भालुवाङ बजार किनारमा बग्ने राप्ती नदी, महाभारत र चुरेश्रृखलाले दिएको रमणीय वातावराण मात्र होइन रोल्पा र प्युठान जिल्लाको व्यापारी केन्द्र पनि बनेको छ भालुवाङ । आजको भालुवाङको इतिहास हेर्दा २००७ साल भन्दा पहिले त्यस ठाउँमा कोइलावास र बहादुरगन्जदेखि आएर व्यापार गर्न थालेका गुप्ता परिवार हो । अनन्तराम गुप्ता र मोहनराम गुप्ता भालुवाङका पुराना व्यापारी थिए । पछि अर्घाखाँचीको पाल्ली र प्युठान जिल्लाको हंसपुरको ढुङेगढीबाट पिले मिया र सौखत अली आएर ब्यापार गर्न लागेको कुरा पाइन्छ । भालुवाङको भूगोलमा अर्थात राजमार्गमा अर्घाखाँची जिल्ला पर्दछ भनेर धेरैलाई थाहा नहुन सक्दछ । भालुबाङको पुलदेखि कालाकाँटेको राङसिङ खोलाको पुलसम्म को ५ किलो मिटर सडक अर्घाखाँची जिल्लाको सिमानामा पर्दछ । राप्तीको पुलदेखि डेढ किलो मिटरको दुरी हात्तीढुङगासम्म सडकको दुबै भाग अर्घाखाँची जिल्ला पर्दछ भने हात्तीढुङगादेखि राङसीखोलाको पुल अर्थात कालाकाँटेसम्मको सडक उत्तर अर्घाखाँची जिल्ला पर्दछ । राप्ती नदीको किनारको भालुबाङ बजार पूर्वतिर अर्घाखाँची जिल्लाको जलुके गाविसको लापे, सातमारा,हात्तीढुङगा, सितलधारा, बेलैते, फुर्केसल्ली डाँडा र जामुने लेक जस्ता नाउँका गाउँहरु रहेका छन् । अहिले भालुबाङ पुरानो बजारमा पर्ने बर्रावासबाट अर्घाखाँची जिल्लाको लापे जोडने झोलुङगे पुल निर्माण भएको छ ।

१०२ वर्षपछि भालुबाङमा फर्कियो प्रशासनिक मुकाम « Naya Page

भालुबाङ बजारको पुलचोकमा जहाँ बजार क्षेत्र बिस्तार भएको छ । त्यस ठाउँमा अहिलेसम्म ३१ बिघाह १९ कठ्ठा ६ धुर जमिन वनको नाममा रहेको छ । २०५० सालदेखि नगर विकास गठन भए यता धेरै पटक बजार क्षेत्रका घरहरुलाई दर्ता गराउन खोजिए पनि हालसम्म बजारबासीहरुले जमिनको लालपुर्जा पाउन सकेका छैनन् । भालुबाङको राप्ती नदीको पुल ०३८ सालदेखि निर्माण सुरु भएर ४० सालमा सम्पन्न भएको थियो । राप्तीको पुल निर्माण भएपछि मात्र राप्ती क्षेत्रका सडक यातायातको सञ्जाल पूर्वतिर जोडिएको हो । भालुबाङ वरपरकाका ग्रामीण बस्तीहरु ग्रामीण पर्यटन विकासको लागि आधारभूत संरचना रहेको छ । लालमटिया र हाँसिपुर गाउँ विकास समितिमा पर्ने चुरे श्रृखलाका प्राकृतिक डाडाँकाडाँका रमणीय मगरबस्ती देवीकोट, रुपाकोट, करङगे कोट, थकरीकोट भट्टीसोता जस्ता रमणीय कोट र ऐतिहासिक स्थलहरु रहेका छन ।

देवीकोट मन्दिर हाँसिपुर ४ देवीकोटमा अवस्थित छ । यस मन्दिरको खास नाम भने भद्राक्षीदेवी मनकामना मन्दिर हो । यस स्थानमा भद्राक्षीदेवी मनकामना सिद्धि मन्दिर र पालुको थान छन् । यहाँ वडा दशैं र चैते दशैंको वेला भक्तजनहरुको घुईचो लाग्दछ । देवीकोट पुग्नको लागि तल्लो मौरीघाट श्रीनारायण चोक देखि ८ किलो मिटर मोटर मार्ग समेत निर्माण भएको छ । जुन मार्गलाई गणतन्त्र मार्गको नाम राखिएको छ । ग्रामीण पर्यटनको विकास गर्ने लक्ष्य सहित निमार्ण थालिएको यो सडक मौरीघाट–हाँसिपुर मुर्कोटी सम्म ३५ किलो मिटर सडकको सर्भे भएको छ । यो सडक मुर्कोटी हुदै प्युठान जिल्लाको स्वर्गद्वारीसम्म सडक जोडने लक्ष्य रहेको छ । ग्रामीण मगर समुदायको बस्तीहरुलाई ग्रामीण पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

भालुवाङ् बजारदेखि ४ किलो मिटर उत्तर पूर्व राप्ती नदीमा रहेको चखेवा तालमा प्रत्येक वर्ष उत्तरी ध्रुवमा हिउँ पर्न थालेपछि नेपालका विभिन्न भागमा पर्यटन चराहरु भित्रिने क्रम सुरुहुन्छ । विशेष गरी साइवेरियन चराहरु दक्षिणी भेगमा न्यानो र सुरक्षित वासस्थानको खोजीमा नेपाल आउने गरेका हुन । वर्षातको क्रम हट्दै गएर जब शरद ऋतुको सुरुवात हुन्छ यही समयदेखि साइवेरियाबाट चराहरु आउने क्रम सुरु हुन्छ । यसरी आउने चराहरुमा जल कौवा, बकुल्ला, स्टोर्क, २० प्रजातीका, डुवुल्की चरा, सिद्धेचरा, जकेवा, भुडीभोर, लोभीपपी गरुड १३ प्रजातीका, पानी हाँस ४२ प्रजातीका र रैथाने र घुमन्ते चराहरु नेपालमा आउने गर्दछन । यसरी आउने साइवेरियन चराहरु तराइका विभिन्न सिमसार क्षेत्रका तालतलैयाहरुमा बासस्थान बनाएर बस्ने गरेका छन । यिनै चराहरु मध्य केही चराहरु चखेवा तालमा आउने गरेका छन । उत्तरी ध्रुवका चराहरुले नेपाल, भारत, श्रीलङ्कालगायतका देशका संरक्षित सिमसार क्षेत्रमा हिउँदमा विचरण गर्दछन । चखेवा ताल भने प्राकृतिक रुपमा राप्ती नदीमा बनेको ताल हो । तालको पूर्वतिर अर्घाखाची जिल्लाको डाफे सामुदायिक वन र पश्चिम भागमा दाङ जिल्ला लालमटिया गाविसको राप्ती सामुदायिक वनले पाहुना चराहरुलाई वास बस्ने अनुकुल स्थल बनाइ दिएको छ ।

प्युठान जिल्लाको गौमुखीबाट उदगम भएको झिमरुक र रोल्पा, वाग्लुङ्को सिमामा पर्ने कालाशेषबाट निस्कने लुङ्ग्री, खुङ्ग्रीको पानी रोल्पाको राकको जायाचौर उदगम स्थल भएर बग्दै आएको माडी खोला प्युठान रोल्पाको सिमानामा पर्ने चतुर्भजमा मिसिएर माडी खोलाको नामबाट बग्दछ । माडी र भिमरुक दुई खोला प्युठान र अर्घाखाँचाीको सिमानामा पर्ने ऐरावतीमा मिसिन्छ । यसरी रोल्पा र प्युठानका दर्जनौ खोलाहरुको पानी मिसिएपछि राप्ती नदीको नामाकरण भएर अर्घाखाची, प्युठान र दाङ जिल्लाको सिमा बनेर बग्दै दक्षिण बग्दछ राप्ती नदी । गनाहखोला अर्थात चैते बाट प्युठानको भूगोल समाप्त भएर दाङ र अर्घाखाचीको सिमा मात्र भएर राप्ती चखेवा तालसम्म आईपुग्दासम्म धेरै स्थानमा तालको स्वरुप नदीले दिए पनि चखेरा तालमा मात्र साइवेरियन चराहरु आउने गरेका छन ।

साइवेरियादेखि चराहरु किन यहाँ आउँछन रु त्यसका बारेमा वैज्ञानिक खोज अनुसन्धान होला, तर आगन्तुक चराहरको वासस्थानलाई अनुकुल वातावरणि स्थल जोगाउनु पर्दछ । साइवेरियन चराहरु मात्र होइन चखेवा तालमा गोही समेत पाइन्छ । वर्षाको पानी बाट खेल्दै आउने गोही आफुलाई अनकुल हुने पानीको गहिराई फेला पारेपछि चखेवा ताललाई बासस्थान बनाउन लागेको छ । चखेवा ताल आन्तरिक एव वाह्य पर्यटकहरुको लागि पनि आकर्षक बन्ने स्थल छ । राजमार्ग भालुवाङदेखि ¥याफटिङ् सेवा चखेरा ताल हुदै अर्घाखाँची र प्युठान जिल्लाको सिमानामा पर्ने ऐतिहासिक ऐरावतीसम्म सेवा दिन सके चखेवा ताल हेर्न दैनिक सयौंको संख्यामा मानिसहरु पुग्न सक्दछन । ऐरावती माडी र झिमरुक मिसिएको ऐतिहासिक धार्मिक स्थल हो । चखेवा र ऐरावती पुग्ने मानिस मात्र होइन ¥याफटिङ् सेवाले अर्घाखाँची जिल्लाको पश्चिमी भेगका वेलवास वरपरका दर्जनौ गाउँका बासिन्दा र प्युठान जिल्लाको सलिकोट वाङ्गेसालका बासिन्दाहरुलाई समेत यातायातको सुविधा हुन जानेछ ।
भालुबाङको दक्षिण गोबडिहा गाउँमा ऐतिहासिक सिद्ध बाघनाथ बाबा जंगलकुटी रहेको छ । एउटा युग थियो तपस्या गर्ने, एकान्त स्थलमा तप गर्ने, ध्यान गर्ने यसरी प्राप्त भएको ज्ञानलाई प्रयोग गर्ने त्यही क्रममा निर्माण भएको हो जंगलकुटी । दाङ् जिल्लाको देउखुरी उपत्यकाको गोवरडिहा गाविस–८ को जंगलमा जंगलकुटी पर्दछ । करिव दुईसय वर्षको इतिहास रहेको जंगलकुटी प्रकृतीप्रेमीहरुको लागि अध्यन, अनुगमन र दृष्यावलोकन गर्नको निमित्त उत्तम मानिन्छ । राप्ती नदीको किनारमा रहेको गोवरडिया गाउँ दक्षिण चुरे–पहाडको डुंडुवा पहाड चिमचिमे खोला, सुपौला खोलाको प्राकृतिक हरियाली जंगलको बिचमा रहेको जंगलकुटी, चारैतिर घना जंगल, दुर्लभ जडिवुटी, सयौ भन्दा बढी प्रजातीका चराचुरुङ्गी र जंगली जनावर पनि जंगलकुटी जंगलमा रहेका छन । बुटवलको चारपाला कुटी बाट १८७९ सालमा जंगलकुटीमा आएर वस्नु भएको सिद्ध बाघनाथ बाबा जंगलबिच रहेको भूवनेश्वरनाथ कुटीमा एक्लै वस्ने र गाउँघरमा डुल्दा बाघमा चडेर घुम्नुहुन्थो । बाघमा चढ्ने हुँदा वहाको नाम पनि बाघनाथ राखिएको विस्वास गरिन्छ । जंगलकुटी वरपर रहेको चुरे श्रृखलामा प्राचीनका देखि नै बाघ को बासस्थान भएको जंगल थियो । भनिन्छ बाघनाथ बाबा वन्य जन्तुहरुको भाषा पनि वुझनु हुन्थो । बाबाको कुटीमा वन्यजन्तु बाघ, भालु, मृग, जरायो जस्ता जनावर वरपर घुम्ने गर्दथे ।
कालाकाँटेबाट १६ कि.मि. पश्चिम गढवा–कालाकाँटे सडकमा पर्ने गोवरडिहा गाउँदेखि ७ कि.मि. दक्षिण चुरे पहाडको काखमा जंगलकुटी रहेको छ । –जंगलकुटीको पहाडको टुप्पोमा जसलाई भ्यूटावर पनि भन्ने गरिएको छ । यस स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भाग को दृष्य देख्न सकिन्छ । राप्ती नदीको नागवेली आकृति, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दाया, वायामा वाक्लो बस्तीको मनोरम दृष्य भ्यूटावरको चुचुराबाट अवलोकन गर्न सकिन्छ । राजमार्ग कालाकाटे ऐतिहासिक स्थल हो । यो ठाउँमा तत्कालीन समयमा भारतबाट लखटिदै आएका कालाराजालाई काटेको हँुदा ठाउँको नाम पनि कालाकाँटे राखिएको हो भन्ने कुरा किम्वदन्तीमा रहेको छ ।
जंगलकुटी दक्षिण र पूर्वी भूभागका चुरे श्रृखलाको पहाड प्राचीन सभ्यताको धरोहर भूमि मानिन्छ । यस क्षेत्रमा कपिल महर्षिको तपोभूमि मानिन्छ । जुन ठाउँ अहिले कपिलवस्तु जिल्लामा पर्दछ । मानव समाजको विकाससँगै पहाड,पर्वतहरु मा ऋषिमुनिहरुको तपस्या स्थल वनेको प्राचीन इतिहास छ । जसको उधारण अहिले कपिलवस्तु जिल्लामा पर्ने शिवगढीलाई लिन सकिन्छ । चुरे पहाडको चुचुरो शिवगढीको उचाई सामुद्रिक सतहवाट १ हजार ४९१ मिटर रहेको छ । राजमार्ग धाखोला बाट ३ घण्टाको उकालो पैदल यात्रामा पुगिने शिवगढी मन्दिरमा धानखोलाको शिवालय नवन्दासम्म प्रत्येक शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दथ्यो । कपिलवस्तु र दाङ् जिल्लाको सिमावर्ती क्षेत्रहरुको सवै भन्दा अग्लो पहाडमा रहेको शिवगढीबाट हिमाल,तराई,चुरे पहाडको धेरै श्रृखंला,देउखुरी उपत्यका र प्युठान, अर्घाखाची जिल्लाको धेरै डाडाकाडा अवलोकन गर्न सकिन्छ । प्राकृतिक रमणीय वातावरण अनुभव गर्नेहरुका लागि शिवगढीले पहाडलाई बोकेर तराईको मैदानी भागलाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । रात्रीको समयमा शिवगढीबाट भारतीय शहरमा रेलगाडी कुदेको, विजुली वलेको झिलिमिली वातावरण देख्न सकिन्छ । शिवगढीमा सतिदेवीको जिव्रो पतन भएको जन विस्वास गरिन्छ ।
राजमार्ग धानखोलाको शिव मन्दिर २०४० सालमा सडक खन्ने क्रममा फेला परेको शिला हो । जहाँ अहिले सडक किनारमा पहाडभित्र मन्दिर बनाइएको छ । त्यही भित्रको आकृति नै भेटिएको शिवजीको शिला हो । चुनको पहरामा शिवजीको आकृति भेटिना साथ त्यहाँ भएका मजदुरहरुले पूजा गर्न थाले । सडक निर्माणको क्रममा नै पछि दाङ कपिलवस्तु सिमानामा मन्दिर बनाइएको हो, जहा अहिले मन्दिर छ । अहिले उकालो बाटोमा यात्रा गर्न नसक्ने मानिसहरु धानखोलाको शिव मन्दिरमा नै दर्शन गरी आत्मा सन्तुष्टि लिने गरेका छन । प्रत्येक वर्ष शिवरात्रीमा लाग्ने मेला पनि शिवगढी र धानखोला दुवै स्थानमा लाग्ने गर्दछ ।

भालुबाङ क्षेत्रको भूगोलमा बिकासका सम्भावना धेरै छन । तर ती सबै ओझेलमा परेका छन भन्दा पनि हुन्छ । राप्तीको एउटा क्षेत्रको ब्यापारी केन्द्रमा बिकास हुन थालेको भालुबाङ क्षेत्रका प्राकृतिक र ऐतिहासिक सम्पदाहरुको पहिचान एवं संरक्षण गरी ग्रामीण पर्यटनको बिकास गर्न पर्दछ । यसको लागि होमस्टेको अवधारण ल्याउन जरुरी छ । ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई स्थानीय कलासंस्कृति, रीतिरिवाज तथा परम्परा र रहनसहनको उत्कृष्ट अनुभव देखाउन सकिन्छ । ग्रामीण पर्यटन क्षेत्रको बिकासले ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न यसले सहयोग पुग्दछ । गाउँमा आउने पर्यटकलाई मनोरञ्जन र जानकारी दिन स्थानीय कला संस्कृति झल्कने किसिमका कार्यक्रम होमस्टे सञ्चालन भएपछि पर्यटनहरुलाई देखाउन सकिन्छ ।
(यो २०७१ सालमा लेखिएको खोजमुलक आलेख हो, लेखक पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष हुन् )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्