प्रमुखसहित कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

प्रमुखसहित कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित

    मा प्रकाशित

कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।

यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले जानकारी दिए । कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्य अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यसमेत प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताए।

सो कार्यालयमा एक प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, १० नायबसुब्बा, चार खरिदार, एक लेखापालसहित २७ जनाको दरबन्दी रहे पनि विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, चार नायबसुब्बा तथा दुई जना खरिदार रिक्त छन् ।

हाल सो कार्यालयमा छ नायबसुब्बा, दुई खरिदार, करारमा रहेका तीन कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले सेवाग्राहीलाई सेवा पुर्याउँदै आएका छन् । “कार्यालयमा दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ”, निमित्त प्रमुख चौधरीले भने, “एकातिर कर्मचारीको अभाव छ अर्कोतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पुर्याउन असाध्यै कठिनाइ भइरहेको छ ।” कार्यालयमा वर्षौँदेखि रिक्त रहेका कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी तथा विभागमा जानकारी गराइसके पनि कर्मचारी पठाइदिने आश्वासन मात्र पाएको उनको भनाइ छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्