बाबुराम श्रेष्ठ
मंसिर १७, धादिङ ।
धादिङका गुठीपीडित नागरिकहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । गुठीपीडितहरुको समस्या हाल सम्म पनि समाधान हुने संकेत नभएको भन्दै आज गुठी समस्या समाधान संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
वायुगुठीको नाममा बसोबास गर्दै आएका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का करिब १५ सय घरधुरीका नागरिकहरुको आफ्नो पैतृक सम्पति जग्गाको नापी हुँदा हुँदै २०७४ साल देखि मालपोत कार्यालयबाट एक्कासी श्री ५ को वायुगुठीलाई जग्गा धनी बनाई जग्गा धनीलाई मोही बनाएर प्रमाणपुर्जा प्रदान गरिएको थियो ।
यस विषयमा पीडितहरुले सम्बन्धीत व्यक्तिहरुको लालपूर्जा यथावत ढाँचामा सच्याउन पाउँ भनी जिल्ला मालपोत कार्यालय, गुठी संस्थान विभाग र मन्त्रालयमा ताकेता गर्दा २०७६ बैशाख ११ गते गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले जिल्ला मालपोत कार्यालय धादिङमा सम्पूर्ण विवरण खुलाई पठाई दिने भनी पठाएको पत्रको कुनै कार्यान्वयन नभएकाले पीडितहरु आन्दोलनमा उत्रिन बाध्य भएको गुठी समस्या समाधान संघर्ष समितिका इश्वरी बहादुर लम्सालले बताउनु भयो ।
यस्तै आज गुठी समस्या समाधान संघर्ष समितिले गुठी पीडितहरुको समस्या समाधान हुने कुनै संकेत नदेखिएकाले पहिलो चरणमा जिल्ला मालपोत कार्यालय धादिङमा दवाव सिर्जना गर्ने, विभिन्न दलका नेताहरुसँगं यस सँग सम्बन्धी लिखित जवाफ माग्ने, पालिका तथ वडा कार्यालयहरुमा समेत लिखित जवाफ माग्ने, मंसिर २० गते सबै सरोकारवालाहरुलाई वडा कार्यालय चामभञ्ज्याङमा भेला गराई छलफल गर्ने, जस्ता मागहरु पुरा नभए मंसिर २३ गते देखि मालपोत कार्यालय घेराउ र तालाबन्दी गर्ने जस्ता ३ बुँदे निर्णयहरु गरेका छन् ।